कुन विकास सहायता चाहिन्छ भन्ने कुराकाे निर्णय संसद्‌ले मात्रै गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले संसद्‌ले गरेकाे निर्णय जनताकाे हितमा हुने बताएकाे छ । एमसीसी संसद्‌मा टेबुल भएपछि प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले यस्ताे बताएकाे हाे । ‘नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता चाहिन्छ भन्ने कुरा नेपालको सार्वभौम संसद्ले मात्रै निर्णय गर्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

नेपालले सधैँ स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै मन्त्रालयले यो नीतिअनुरूप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको जिकिर गरेकाे छ । ‘नेपालको पूर्वाधार निर्माण र विकासमा विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको छ,’ विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाल सरकार हाम्रा छिमेकीहरू र ती मित्रहरूप्रति कृतज्ञ छ जससँग नेपालले परम्परागत रूपमा बलियो साझेदारी र सहयोगको साथसाथै संयुक्त राष्ट्र संघलगायत क्षेत्रीय र बहुपक्षीय विकास साझेदारहरू नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा कृतज्ञ छ ।’

आजकाे संसद्‌ बैठकमा सत्तारुढ दलहरूबीच मतैक्य नहुँदा पनि एमसीसी टेबुल भएकाे छ । अर्थमन्त्री जनार्दन शर्मा बिरामी भएपछि उनकाे तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबुल गरेकाे एमसीसी पास हुने प्रधान मन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बताइसकेका छन् ।

यद्यपि माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एमसीसी संसद्‌मा टेबुल भएकाेप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले आफ्नाे दल एमसीसीकाे विपक्षमै भएकाे प्रष्टाेक्ति दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =