नाग्म–गमगडी सडक स्तरोन्नति हुँदै

खलङ्गा । पर्यटकको आकर्षक गन्तव्यका रुपमा मानिने मुगुस्थित रारा ताल जोडिने नाग्म गमगडी सडकको स्तरोन्नति गर्ने कार्य सुरु भएको छ । राजमार्गको ५२ किलोमिटरमा ग्राभेल कार्य सम्पन्न भएको हो । डिभिजन सडक कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रको ग्राभेल कार्य अगाडि बढाएपछि करिब ५२ किमी ग्राभेल कार्य सकिएको कार्यालयका इन्जिनियर सन्तोष भण्डारीले बताए ।

उनले भने, “जम्मा ९३ किलोमिटर लम्बाइ भएको नाग्म –गमगडी राजमार्गको स्तरवृद्धिका लागि काम भइरहेको छ । जुम्ला र कालीकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिका क्षेत्रसम्म जोड्ने सडकको काम पनि अहिले भइरहेको छ । ठेक्का लागेर पनि विगत पाँच वर्षदेखि   सडकको छ किलोमिटरसम्मको काम हुन सकेको थिएन ।” स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले सडकको निर्माण कार्य गरिरहेका छन् । अब  कामको अन्तिम टुङ्गो लाग्दैछ । राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भइसकेको र अन्य काम अगाडि बढाइने सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर भण्डारीले बताए ।

सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाइएको छ । मुगु जिल्लाको गमगडीबबाट ताल्चासम्मको सड्क कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । नाग्म–गमगडी राजमार्ग स्तरवृद्धिका लागि प्राथमिकताका साथ काम भइरहेको छ । अब काम ढिलाइ नगरी कार्य समयमै सम्पन्न हुने गरी कार्यालय लागि परेको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठले बताए ।

१० वटा पुल सम्झौता

नाग्म–गमगडी अर्थात् रारा सिंजा राजमार्गका विभिन्न १० वटा खोलामा पुल पनि बन्ने भएका छन् । सडक विभागको पुल महाशाखाअन्तर्गत नाग्म, बाजागाडासहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौता समेत अगाडि बढेको इन्जिनियर भण्डारीले बताए ।

२० किमी कालोपत्र हुने

यसैगरी सो क्षेत्रको २० किलोमिटर क्षेत्र कालोपत्र हुने भएको छ । डिभिजन सडक कार्यालयका अनुसार सरकारको यो वर्षको बजेट योजनाअनुसार २० किलोमिटर क्षेत्रमा कालोपत्र गर्ने योजना रहेको छ । यो वर्ष सो योजनालाई प्राथमिकता दिने कार्यालयले जनाएको छ ।

नेपालको ठूलो राराताल र सिंजा क्षेत्र पर्यटकीय दृष्टिकोणले यही राजमार्गमार्फत आवतजावत गर्नुपर्ने तर सडक राम्रो नहुँदा वर्षौंदेखि नागरिकले सास्ती पाएका छन् । सडक स्तरोन्नति भएपछि यहाँका स्थानीयवासीलाई सजिलो हुने भएको छ । यहाँको कृषि बाली तथा स्याउ ओखरसहित फलफूललाई बजारमा निर्यात गर्न सजिलो हुने स्थानीयवासी युनेश परियारले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *