शंकास्पद प्रेसर कुकर राख्ने समूहका नौ जना पक्राउ

विराटनगर । झापाको बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र विभिन्न स्थानबाट पक्राउ परेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार गौरादह नपा–२ का ३८ वर्षीय सुमन कुमार कार्कीको योजनामा विष्फाेटक पद्धार्थ राखेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा योजनाकार कार्की सहित झापा कन्काई नपा–३ का ४१ वर्षीय भीष्म थापा, दमक नपा–९ कि ५० वर्षीया देवी बास्कोटा (गुरागाई), कान्काई नपा-४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी नपा–१ का ३२ वर्षीय सरुण लिम्बू भन्ने दिल कुमार सामेखाम छन् । त्यस्तै संखुवासभा खाँदवारी नपा–१० घर भई हाल सुन्दरहरैचा–६ मोरङ बस्ने २९ वर्षीय मनमोहन दाहाल, झापा गौरिगञ्ज गापा–३ का ३२ वर्षीय आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नपा–५ का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज गापा-३ का ४५ वर्षीय बिजय कुमार दास हलुवाई रहेको प्रहरीले जनाएकाे छ ।

झापाको विर्तामोड नगरपालिका–४ स्थित पश्चिम बस स्टेण्डमा मिति २०७८ साल माघ ०९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चाहरू फेला परेको थियो । त्यस्तै माघ १३ गते दमक नगरपालिका–५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद वस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चाहरू फेला परेको घटनामा उनीहरू संलग्न रहेको प्रहरीको दाबी छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा सो गतिविधिमा संग्लग्न व्यक्तिहरूलाई फरक-फरक स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रीय कमिटी, कोशी अञ्चल, मेची अञ्चल कमिटीको हस्ताक्षर मात्र भएको छापहरू १० थान, विभिन्न कम्पनीका ७ थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।

पक्राउ परेका ९ जनाको समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरेर कानुनी प्रक्रिया अघि बढाइएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *