कोरोनाविरूद्ध फरक फरक कम्पनीका खोप लगाउन मिल्ने 

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोपको पहिलो र दोस्रो मात्रामा फरक फरक कम्पनीको खोप लगाउन मिल्ने जनाएको छ ।  बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा तथा बुस्टर डोजका रूपमा अन्य जुनसुकै खोप पनि लगाउन सकिने भन्दै सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले, पछिल्ला वैज्ञानिक अध्ययनहरूको सिफारिस बमोजिम नै मन्त्रालयले परिपत्र गरेको बताइन् । ‘नयाँ खोप सिफारिस गरिएको होइन’ उनले भनिन् ‘नयाँ अध्ययनकै आधारमा खोप समितिको सिफारिसको आधारमा मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।’

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुको रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले कोरोनाविरुद्ध फरक फरक खोप लगाउँदा पनि खासै फरक नपर्ने बताए ।

‘पहिलो र दोस्रो मात्रा फरक फरक खोप लगाउँदा पनि खासै फरक पर्दैन । नेपालमा यसअघि लगाई राखेकै खोप लगाउन सिफारिस गरेको हुनाले यसमा डराउनु पर्ने कारण देखिँदैन । नयाँ खोप सिफारिस गरिएको भए जनमानसमा आशंका हुन सक्थ्यो । हाल सिफारिस गरिएका खोपहरू नेपालमा लगाउँदै आइएकै खोप हुनाले त्यस्तो गाह्रो हुँदैन ।’ सकेसम्म पहिलो मात्रा लगाएकै खोप लगाउन पाउँदा राम्रो हुने भए पनि त्यो सम्भव नहुँदा अर्को कम्पनीको खोप पनि लगाउन सकिने उनको भनाइ छ ।

तर दोस्रो र बुस्टर डोजमा कोभिसिल्ड लगाएकाहरूलाई ज्वरो आउने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या देखिएको खोप लगाएकाहरूले बताएका छन् । डा. पुन त्यसो हुनु सामान्य भएकाले डराउन नपर्ने बताए ।

कोभिसिल्ड खोप लगाउँदा ज्वरो आउने, टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने भएकाले स्वास्थ्य सुरक्षाका दृष्टिले डराउनु नपर्ने उनको भनाइ छ । सबैलाई यस्तो समस्या नदेखिने र देखिएकाहरूलाई पनि केही दिनमै सामान्य हुने उनको भनाइ छ। कोभिसिल्डको पहिलो मात्रा लगाउँदा पनि यस्ता समस्या देखिएको स्मरण गर्दै उनले पहिलो मात्रा कोभिसिल्ड नलगाएकाहरूले दोस्रो मात्रामा कोभिसिल्ड लगाउँदा सामान्य ज्वरो आउने जिउ दुख्ने जस्ता समस्या देखिनु सामान्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *