भवन राम्राे भएर मात्रै शिक्षाकाे स्तर उकासिँदैन, शिक्षकहरू पनि राम्रा हुनुपर्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षाकाे स्तर उकास्न शिक्षा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौँको एक विद्यालयमा आयोजित शैक्षिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘हाम्रो एक मात्र शर्त भनेको शिक्षा राम्रो हुनुपर्छ भन्ने हो,’ मन्त्री पौडेलले भने, ‘त्यसका लागि मन्त्रालय सधैँ तत्पर छ, सधैँ तयार छ । मन्त्रालय कुनै कसर बाँकी राख्दैन ।’

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खासगरी सरकारी विद्यालयहरूको स्तर उठाउन धेरै कामहरू गरेको मन्त्री पौडेलले दाबी थियो । पछिल्लो कोभिड लहरभन्दा अघि राम्रा-राम्रा विद्यालयबाट सुझाव तथा सल्लाह लिनेगरी गोष्ठीसमेत मन्त्रालयले आयोजना गरेको स्मरण गराउँदै उनले भने, ‘यो अझै गर्न सकिन्छ । यसले अन्य विद्यालयहरूलाई पनि विद्यालयीय स्तर कसरी उठाउने भन्नेबारे सिकाउँछ । याे जरुरी छ ।’

उनले विद्यालय राम्रो हुनुको एक शर्त राम्रा शिक्षक भएको बताए । राम्रा भवनहरू भएर मात्रै शिक्षाकाे स्तर नउकासिने उल्लेख गर्दै मन्त्री पौडेलले थपे, ‘त्यहाँ राम्रा शिक्षकहरू हुन अति आवश्यक छ । त्यसका लागि मन्त्रालयले गर्नुपर्ने सबै काम गर्छ । तपाईंहरू मन्त्रालय आउनुस्, मन्त्रालयले के गर्नुपर्छ भन्नुस् । अनि छलफल गरौँ र अघि बढौँ ।’

शिक्षाका नाममा वर्षेनी अरबौं रकम बाहिर गइरहेकोप्रति मन्त्री पौडेलले चिन्ता व्यक्त गरे । यो कुराको व्यवस्थापनमा सरकारले सोचिरहेको उनले बताए । ‘जापान, अमेरिका, चीनलगायतका देशहरूमा धेरै धेरै रकम गइरहेको छ शिक्षाकाे नाममा । अब यसको व्यवस्थापन यहीँ हुनुपर्छ । यसमा संघीय सरकारदेखि स्थानीय तहसम्मले गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *