नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्त्वपूर्ण योगदान छः डिल्लीराज भट्ट

कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन आदिकवि भानुभक्तको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले आज आयोजना गरेको विशेष समारोहमा उनले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत जोड्ने काम भानुभक्तले गरेको बताए ।

प्रदेश प्रमुख भट्टले भने, ‘भानुभक्तका कृतिमा धार्मिक भावना मात्र होइन, लोक कल्याणको गहिरो चेतना समेत पाइन्छ । उहाँका कृतिहरूलाई सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्‍याउनु आवश्यक छ ।’

आदिकवि विश्वभरका नेपाली भाषी बीचमा भाषा तथा साहित्य फैलाउने सेतुका रूपमा स्थापित रहेको बताउँदै उनले भने, ‘भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभएको छ ।’

भानुभक्तले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोडेकोले यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्त्वपूर्ण आधार तयार गरेको उनको भनाइ छ ।

भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाँ, पोखरा–११ का वडा सदस्य रनशुभा गुरुङ, पुतली बजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा शाह, पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति पद्मराज ढकाल लगायतले भाषा र साहित्यमार्फत आदिकवी भानुभक्तले नेपालको एकीकरणमा पुर्‍याउनुभएको योगदानको चर्चा गरे । समारोहमा विभिन्न साहित्यिक व्यक्तित्वले भानुभक्तीय रचना वाचन गरे ।

त्यस अवसरमा नेपाली विषयका शिक्षक टेकनाथ पोखरेललाई भानु शैक्षिक पुरस्कार र पृथ्वीनारायण क्याम्पसबाट स्नाकोत्तर तहमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने जमुना रिजाल नगदसहित पुरस्कृत गरियो । यसअघि मानवअधिकारचोकबाट आयोजना गरिएको प्रभातफेरीमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, आमा समूहको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =