एमसीसीबारे सत्ता गठबन्धनमा ‘निर्णायक’ छलफल

काठमाडौँ । एमसीसी सम्झौताबारे निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । संसद्‌मा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढ्छ भन्ने अन्तिम टुङ्गो लगाउन दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो ।

हरहालतमा एमसीसी संसद् लैजाने प्रधान मन्त्री देउवाको तयारी र एक्लै अघि बढे सरकारबाट बाहिरिने माओवादी र एकीकृत समाजवादीको अडानपछि गठबन्धनको भविष्य अन्योलमा छ । यही अन्योलबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा प्रधान मन्त्री देउवाले बालुवाटारमा गठबन्धनको ‘निर्णायक’ बैठक बोलाएका हुन् ।

आगामी बैठकमा जसरी पनि एमसीसी टेबुल गर्ने प्रधान मन्त्रीको तयारी छ । आफ्नो पार्टीको संसदीय दलको बैठक सकेर प्रधान मन्त्री देउवालाई भेट्न बालुवाटार गएका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा अन्तिम छलफल गरेर मात्र अगाडि बढ्न सुझाएका थिए । सोहीअनुसार आजको बैठक गठबन्धनको भविष्यका लागि निर्णायक हुने सम्भावना छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबारको बैठकले गठबन्धन र एमसीसीबारे अन्तिम फैसला गर्ने बताए  । ‘एमसीसीमा अहिलेसम्म धेरै नै छलफल र बहस भइसकेको छ । गठबन्धनभित्र र बाहिर पनि कांग्रेसले सम्पूर्ण प्रयास गरेको छ ।आज गठबन्धनभित्र रहेका अन्य दलको धारणा सुन्छौँ, त्यसपछि धेरै पर्खिने हुँदैन,’ प्रवक्ता महतले भने, ‘कांग्रेस आगामी बैठकमा एमसीसी टेबुल गर्ने पक्षमा छ । गठबन्धनभित्र सहमति जुटाउनैका लागि अन्तिम प्रयास गर्न बैठक बोलाइएको छ ।’

बुधबारको संसद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार (भोलि)को संसद् बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् । त्यसैले पनि आजको गठबन्धनका नेताहरूको छलफललाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *