एमसीसीकाे टुंगाे संसदबाटै लाउनुपर्छ : भीम रावल

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभाबाटै टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै नेता रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हुन् । उनले एमसीसीमा उठेका विभिन्न विषयहरूलाई सदनमा नै विस्तृत छलफल गर्नुपर्ने र यसका लागि सदन सुचारु गर्नुपर्ने धारणा राखे । उनले संसद अवरोधको नाममा हो-हल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भन्ने प्रश्न उठाएको बताए ।

त्यस्तै, माओवादी केन्द्रका नेता देव गुरुङले अहिले गठबन्धनको सरकार भएकाले गठबन्धनभित्रै साझा धारणा नबनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य नहुने तर्क गरे । सरकारले लाने प्रस्तावमा गठबन्धन सरकारको सहमति हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले यथास्थीतिमा एमसीसी पारित गर्न नहुने धारणा कायमै रहेको बताए । उनले सदन अवरुद्ध रहीरहेका बेला सदनमा एमसीसीका विषयमा छलफल हुन नसक्ने धारणा राखे ।

उनले सदनलाई सूचारु गर्नुपर्ने र अन्य विषयहरूलाई अघि बढाउनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *