तारा एयरले फागुन ११ देखि इलाममा नियमित उडान गर्ने

काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ ।

निर्माण प्रक्रिया थालेको बीस वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतबार र बिहीबार काठमाडौँदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एयरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमीत उडान हुन लागेको हो ।

विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि २०७५ जेठ २१ गते तारा एयरको ट्वीनेटर जहाजले परिक्षण उडान गरेको थियो ।

फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राको लागि हाल एकतर्फी भाडा ९ हजार रुपैयाँ कायम गरिएको छ ।

ईलाम नगरपालीकाका प्रमुख महेश वस्नेतले पर्यटन बोर्ड तथा तारा एयरले पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे ।

ईलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पर्या–पर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ ।

नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे । पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढे पनि सडक यातायात झञ्झटिलो र समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए ।

ईलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगरआदि पर्यटकीय आर्कषणका केन्द्रहरु हुन् ।

फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *