कालु पाण्डेका वंशज प्रणवजंग यसरी बने २० वर्षमै सफल उद्यमी (भिडिओसहित)

काठमाडौँ । कोरोना महामारी धेरैका लागि अभिशाप बन्यो । केहीका लागि भने यही समय अवसर बनिदियाे र बन्याे करिअरकै ‘टर्निङ प्वाइन्ट’ । कोभिड महामारीको अत्यासलाग्दो अवस्थालाई पनि अवसरमा बदल्न सफल एक युवा हुन्– प्रणवजंग पाण्डे । विश्वभर फैलिएको कोभिड–१९ महामारी नियन्त्रणका लागि २०७६ को चैतमा लकडाउन शुरू हुँदै गर्दा पाण्डे केबल १७ वर्षे किशोर थिए ।

महामारी नियन्त्रणका लागि सरकारले शुरू गरेको लकडाउनका बेला घरमै बस्ने, खाने, फिल्म हेर्ने सुत्ने रुटिन बन्यो उनको । त्यसताका ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ मा अध्ययन गरिरहेका उनको वार्षिक परीक्षासमेत स्थगित भयाे । घरमै सीमित दैनिकी र पट्यारलाग्दाे लकडाउनका बीच समय बितिरहेकाे थियाे । यही फुर्सदको समयलाई सिकाइको अवसरमा बदल्न उनलाई हजुरबुबा प्रदीपजंग पाण्डेले सुझाए । हजुरबुबाको प्रेरणापछि उनी हुजुरबुबाले नै शुरू गरेको औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्समा गए । केही गर्ने सोच बनाए । बजारको आवश्यकता र मागको अध्ययन गरे ।

त्यससपछि कोभिड नियन्त्रणका लागि आवश्यक स्यानिटाइजर, मास्क, पिपिई, ज्वरो नाप्ने यन्त्र जस्ता सामग्रीहरूकाे बजारमा बढ्दाे माग र अभाव देखे । यी सामग्री उत्पादन, आयात र व्यापार गर्ने सोच बनाए । त्यसपछि उनकाे हजुरबुबाले सुरू गरेकाे कम्पनी लाेमस फर्मास्युटिकलमार्फत उनले यी सामग्री उत्पादन गरेर बजारका हरेकजसो औषधि पसल र डिपार्टमेन्टल स्टोरहरूमा पुर्‍याउन सक्रिय हुन थाले । काम गर्दै जाँदा कोभिडकै समयमा पनि उनले औषधिजन्य र स्वास्थ्य सामग्रीको उत्पादन, बजारीकरण र व्यवस्थापनबारे धेरै कुरा जान्ने र सिक्ने अवसर पाए ।

यसरी कोभिडका कारण १७ वर्षकै उमेरमा उद्यम, व्यवसायबारे जान्ने र सिक्ने अवसर पाए प्रणवले । त्यसपछि उनी हजुरबुबा र बुबा प्रवलजंग पाण्डेले देखाएकै बाटो अघि बढ्दै अहिले लोमस ग्रुप अफ इन्डिस्ट्रिज प्रालिका निर्देशक भएर कम्पनीलाई सही दिशा निर्देश गरिरहेका छन् ।

‘प्रयास गरे जस्तोसुकै असहज परिस्थितिलाई पनि अवसरमा बदल्न सकिँदो रहेछ,’ मकालुखबरसँगकाे भिडियाे कुराकानीमा उनले भने ।

२०८५ कात्तिक ४ गते काठमाडौँको बालुवाटारमा जन्मेका प्रणवले काष्ठमण्डप स्कुलबाट एसईई उत्तीर्ण गरेका हुन् । अहिले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट(कुसुम)मा बीबीए पढ्दै गरेका २ं० वर्षे युवा प्रणव दह्रो आत्मविश्वासका साथ उद्यम तथा व्यावसायिक करिअरमा खरो उत्रिन थालेका छन् ।

अनलाइन अर्डर लिएर विश्वका जुनसुकै देशमा पाइने सामान त्यही देशको मूल्यमा नेपालमा उपलब्ध गराउनेसहितका ३ फरक स्टार्ट अप बिजनेसमा समेत उनी अघि बढिरहेका छन् ।

नेपालकै प्रसिद्ध विज्ञापन कम्पनी फर्मुला प्लस क्रिएटिभ एण्ड एड्स मिडिया प्रालिको बिजनेस प्रमोसन कन्सल्ट्यान्ट नियुक्त भएर हालै प्रणवजंग पाण्डे मिडिया क्षेत्रमा समेत क्रियाशील हुँदैछन् ।

‘अब म मिडियामा समेत काम सुरु गर्दैछु, फमुर्ला प्लसमार्फत,’ उनले भने, ‘यो कम्पनीमार्फत हामी अन्तर्राष्ट्रिय स्तरका चर्चित टेलिभिजन कार्यक्रमहरुको फ्रेन्चाइजी ल्याउने गरी हामी अघि बढिरहेका छौँ ।’

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) बहन गर्ने क्रममा विभिन्न सामाजिक संस्था तथा व्यक्तिलाई सहयोग गर्ने समेत गरिरहेका छन् । याे काम पनि उनले काेभिडकाे महामारीदेखि नै सुरू गरेका हुन् । ‘काेभिडका बेला नेपाल प्रहरीलाई विभिन्न सामग्री सहयाेग गरेर सीएसआर सुरू गरेँ, अहिले विभिन्न संस्था तथा व्यक्तिलाई सहयाेग गरेर याे काम जारी राखेकाे छु,’ उनले भने ।

नेपाल एकीकरणका नायक कालु पाण्डेका वंशज पाण्डे परिवारले स्थापना गरेको औद्योगिक विरासत सम्हाल्ने तेस्रो पुस्ताका व्यक्ति हुन् प्रणव । उद्यम व्यवसायमा किताबी ज्ञानभन्दा ज्यादा व्यवहारिक ज्ञान र अनुभव आवश्यक हुने मान्यता राख्छन् उनी । प्रणवको व्यावसायिक उडानतर्फकाे हौसला देख्दा उनले एकदिन साँच्चै सफलताकाे उचाइ छुन्छन् भन्नेमा विश्वस्त हुन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *