धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को ट्रफी सार्वजनिक

धनगढी । धनगढीमा सोमबार (भोलि)देखि सुरु हुने धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को आइतबार ट्रफी सार्वजनिक गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताको मुख्य प्रायोजक धगनढी उपमहागरपालिका रहेको छ ।

प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै नगरप्रमुख वडले धनगढीमा हुने यस्ता प्रतियोगिताले धनगढीलाई क्रिकेटको सहर बनाउन मद्दत पुगिरहेको बताए । प्रतियोगितामा काठमाडौं, कैलाली र कञ्चनपुरका गरी १० वटा विद्यालयको सहभागी रहने आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

अण्डर -१९ टि–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी १० विद्यालयका टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस, वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् ।

त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।

यस्तै सोमबारदेखि हुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन् । प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यसैगरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०/१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए । प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का प्रहारको अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता यही फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *