दुधको अव्यावहारिक मूल्य : वार्षिक १४ करोडसम्म ठगिन सक्छन् उपभोक्ता

काठमाडौँ । सरकारले दुधको मूल्य वृद्धि गरेको छ । तर बढेको मूल्य अव्यावहारिक हुँदा उपभोक्ता दैनिक ठगिने र व्यापारीले नाजायज नाफा कमाउने देखिएको छ । यातायातको अव्यावहारिक भाडा निर्धारण हुँदा यात्रु ठगिइरहे जस्तै दुधको नयाँ मूल्यबाट पनि उपभोक्ता गठिने अवस्था आएको हो ।

याे पनि– भाडाको भद्रगोल : सार्वजनिक यातायातबाट काठमाडौँमै दैनिक ६५ लाख बढी भाडा असुल

दुग्ध विकास संस्थान(डीडीसी)ले शुक्रबारदेखि प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरी प्रशोधित दुध बिक्री गर्न थालिसकेको छ । निजी डेरी उद्योगहरुले त यो मूल्य पनि कम भएकोले र १० रुपैयाँ बढाउनु पर्ने अडान लिएका छन् । वृद्धि भएको मूल्य मध्ये दुध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ६ रुपैयाँ ८१ पैसा र प्रशोधित दुध उत्पादन गर्ने उद्योगीका लागि प्रतिलिटर २ रुपैयाँ १९ पैसा बढेको हो ।

यो दुबै गरी उपभोक्ताका लागि भने लिटरमा ९ रुपैयाँ बढेको हो । डीडीसीले उत्पादन गर्ने ५ प्रतिशत फ्याट भएको हरियो प्याकेटको दुधको मूल्य त लिटरमा १४ रुपैयाँसम्म बढेको छ ।

कसरी ठगिन सक्छन् उपभोक्ता
आम उपभोक्ताले बढी प्रयोग गर्ने ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको प्रशोधित दुध (डीडीसीको निलो प्याकेट आधा लिटर)को मूल्य ४२ रुपैयाँ ५० पैसा निर्धारण भएको छ ।

त्यस्तै ५ प्रतिशत फ्याट भएको हरियो प्याकेट(आधा लिटर)को मूल्य ५७ रुपैयाँ, ३.५ प्रतिशत फ्याट भएको गाइको दुध प्याकेट (आधा लिटर)को ५१ रुपैयाँ र चियाका लागि प्रयोग हुने १.५ प्रशित फ्याट भएको दुध प्याकेट(आधा) लिटरको मूल्य ४० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तो मूल्यका कारण एक प्याकेट दुध किन्ने उपभोक्ताले पसलेलाई ठ्याक्कै ४२ रुपैयाँ ५० पैसा नगद भुक्तान गर्न सक्ने अवस्था छैन । न त पसलेले ५० पैसा फिर्ता दिन सक्छन् । त्यस्तै, गाइको दुध १ प्याकेट किनेर ५१ रुपैयाँ र ५७ रुपैयाँ भुक्तानी गर्न पनि गाह्रो छ । किनभने बजारमा सिक्काको अभाव छ ।

पछिल्लो समय राष्ट्र बैंकले लागत बढी पर्ने भएपछि ५० पैसा र १ रुपैयाँ दरका सिक्का र नोट छापेर बजारमा पठाउनै छोडेको छ । आम उपभोक्ता र व्यापारीले पनि ५० पैसा, १ रुपैयाँ र २ रुपैयाँ दरका सिक्का प्रचलन गर्न करिब छोडिसकेको अवस्था छ । यस्तो अवस्थामा थोकमा बढी प्याकेट दुध खरिद बिक्री गर्दा हिसाब मिलान गर्न सजिलो भए पनि एक प्याकेट मात्रै दुध किन्ने उपभोक्ताले बढी पैसा तिर्नुपर्ने अवस्था छ ।

त्यसो हुँदा व्यावहारिक जटिलता देखाउँदै व्यापारीले उपभोक्तासँग एक प्याकेट दुधको ४५, ६० र ५५ रुपैयाँसम्म लिनसक्ने सम्भावना छ ।

कति हुन सक्छ ठगी
दैनिक देशभर ८० हजार देखि १ लाख लिटरसम्म दुधको बिक्री वितरण हुने गरेको छ । यस अनुसार १ लाख लिटर दुधको २ लाख वटा आधा लिटरको प्याकेट बजारमा खरिद बिक्री हुन्छ ।

देशभर बिक्री हुने कुल २ लाख मध्ये १ लाख प्याकेटमा मात्रै व्यापारीले उपभोक्तासँग ५० पैसा मात्रै बढी लिए भने पनि दैनिक ५० हजार, मासिक १५ लाख र वार्षिक १ करोड ८० लाख रुपैयाँ बढी असुल गर्ने सम्भावना हुन्छ ।

त्यस्तै, एक प्याकेटमा १ रुपैयाँ बढी लिँदा दैनिक १ लाख, मासिक ३० लाख र वार्षिक ३ करोड ६० लाख रुपैयाँ बढी असुल हुन्छ । २ रुपैयाँ बढी लिए दैनिक २ लाख, मासिक ६० लाख र वार्षिक ७ करोड ३० लाख रुपैयाँ बढी असुल हुन्छ । ३ रुपैयाँ बढी लिँदा दैनिक ३ लाख, मासिक ९० लाख र वार्षिक १० करोड ८० लाख रुपैयाँ बढी असुल हुन्छ । ४ रुपैयाँ बढी लिए भने दैनिक ४ लाख, मासिक १ करोड २० लाख र १४ करोड ४० लाख रुपैयाँ बढी असुल हुन्छ ।

डीडीसी पनि स्वीकार्छ कारोबारको व्यावहारिक जटिलता
दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी भन्छन्– ‘एक प्याकेट दुधको मूल्य ४२ रुपैयाँ ५० पैसा हुँदा एक प्याकेट मात्रै दुध किन्नेका लागि कारोबार जटिल बनेको पक्कै छ । तर, २ प्याकेट किन्दा ८५ रुपैयाँ तिर्दा सजिलो छ । फेरि सबैलाई दुई प्याकेट नै चाहिन्छ भन्ने छैन । त्यसो हुँदा यसलाई व्यवसायी र उपभोक्ताले नै आपसी समझदारीमा मिलाउनु पर्ने अवस्था छ ।’

दुधको मूल्य बढी बनाउँदा पनि उपभोग घट्न जाने र डीडीसीको सञ्चालनमा समस्या आउने उनले बताए । ‘मूल्य मिलाउन एक प्याकेटलाई ४३ वा ४५ रुपैयाँ बनाउन पनि मिल्दैन,’ उनले भने, ‘सिक्काको प्रचलन बढाउँदा उपभोक्ता र व्यवसायी दुबैलाई सजिलो हुन जान्छ ।’

दुधमा मूल्य बढ्दा दुग्धजन्य पदार्थ, दही, घ्यु, बटर, चिज, पनिर, आइसक्रिम, मिठाइजस्ता अनेक उत्पादनको मूल्य बढ्ने त छँदैछ । बढेको मूल्यमा पनि कारोबारको जतिलटाले बढी रकम तिर्नुपर्दा आम उपभोक्ता थप मारमा पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *