भाडाको भद्रगोल

सार्वजनिक यातायातबाट काठमाडौँमै दैनिक ६५ लाख बढी भाडा असुल

काठमाडौँ । रत्नपार्कबाट सिभिल अस्पताल जान बसमा चढेका श्याम तामाङ्गले नयाँ बानेश्वर चोकमा पुगेपछि गाडीको भाडा तिरे । ५० को नोट दिएका उनलाई बा३ख ७९८२ नम्बरको गाडीका सहचालकले दुई जनाको भाडा कटाएर १० रुपैयाँ फिर्ता दिए । श्यामले थप फिर्ता मागे । सहचालकले २० रुपैयाँ नै हो भनेर अड्डी कसे ।

श्यामले भने‚ ‘एकजनाको भाडा १८ रुपैयाँ हो, थप चार रुपैयाँ फिर्ता दिनुस् न ।’

‘खुद्रा पैसै छैन, सबैले २०/२० रुपैयाँ नै तिरेको छ, के ल्याङ-ल्याङ गरिरा ? सहचालक च्याँठ्ठिए ।

‘खुद्रा छैन भने दुई जनाको ३६ को ठाउँमा ३५ कटाएर ५ रुपैयाँ फिर्ता देउ न भाइ’ श्यामले कडै भएर बोले । तर सहचाकलले टेरपुच्छर लगाएनन् । झर्ने ठाउँ आयो । श्याम दिक्क मान्दै झरे ।

काठमाडाौँमा सार्वजनिक यातायातमा यात्रु लागेको भन्दा बढी भाडा तिर्न‚ अर्थात् फिर्ता आउनुपर्ने रकम माया मार्न बाध्य छन् । धेरैजसोले भाडा फिर्ता नै नमाग्ने २० रुपैयाँ नै तिरेर जाने गरेका छन् । फिर्ता माग्दा नै पनि गाडीको स्टाफको हप्किदप्की खानुपर्ने तर भाडा फिर्ता नपाइने यात्रुको गुनासो छ । भक्तपुरकी माया श्रेष्ठले भाडा फिर्ता माग्दा आफैँले १८ रुपैयाँ दिनू भनेर बसको स्टाफले गाली गरेको सुनाइन् । ‘गाली खानुभन्दा बरु फिर्ता नै माग्न छाडेँ’, उनले भनिन्, ‘जति मागे पनि दिने होइनन् ।’

भाडादर बढेपछि सार्वजनिक सवारी साधनमा अचेल कम्तीमा २० रुपैयाँ भाडा तिर्नैपर्छ । तर यातायात व्यवसायी समेतको सहमतिमा सरकारले तोकेको भाडाचाहिँ ५ किलोमिटरको दूरीसम्म न्यूनतम १८ रुपैयाँमात्र हो ।

अल्टर भाडादर वर्षौँदेखि तोकिँदै
सरकारले ५ किलोमिटर दूरीसम्मको समायोजित नयाँ भाडादर १८ रुपैयाँ तोकेको छ । यो दूरीका लागि सार्वजनिक यातायातले २० रुपैयाँ लिने गरेका हुन् । यस्तै, १० किलोमिटरका लागि २३ रुपैयाँ तोकिएकोमा २५ रुपैयाँ, १५ किलोमिटरको भाडादर २७ रुपैयाँ तोकिएकोमा ३० रुपैयाँ लिने गरेका छन् । यसको अर्थ एक यात्रुसँग एक पटकको यात्रामा यातायात व्यवसायीले २ देखि ३ रुपैयाँसम्म ठगिरहेका छन् ।

सरकारले तोकेको यो भाडादर वैज्ञानिक होला‚ तर व्यवहारिक भने पटक्कै छैन । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बजारमा पर्याप्त मात्रामा १ र २ रुपैयाँको सिक्का पठाउन छोडेको छ । झण्डै २ दशकअघि देखि १ र ३ रुपैयाँका कागजी नोटसमेत छाप्न छाडेको छ । किराना पसलहरूमा १ वा २ रुपैयाँ फिर्ता गर्नुपर्‍यो भने चकलेट वा चुइङ्गम दिने चलन छ । तर, सार्वजनिक यातायातले चकलेट वा चुइङ्गम बोकेर हिँड्दैनन् । त्यसो हुँदा यो समस्या आउनै नदिने गरी भाडादर तोक्नु व्यवहारिक हुने थियो ।

यातायातको भाडादर ‘राउन्ड फिगर’मा तोक्न सकिन्थ्यो । जस्तो कि १८ को सट्टा १५ रुपैयाँ र २३ को सट्टा २५ रुपैयाँ वा १८ को ठाउँमा २० रुपैयाँ र धेरै किलोमिटरसम्म २५ रुपैयाँ वा यस्तै तरिकाले । तर, किन १८/२३/२७ रुपैयाँजस्तो पैसा फिर्ता गर्न नमिल्ने गरी भाडा तोकियो ? यो अहिले आम यात्रुको साझा प्रश्न हो । यात्रु गिता चिमोरिया भन्छिन्‚ ‘यो त अचम्मै हो । गाडीमा फिर्ता दिँदैनन् भन्ने थाहा भएपछि भाडा दर १८, २३ गरेर तोक्नु नै गलत हो ।’

यसअघि पनि सरकारले तोकेको न्यूनतम भाडादर १३ रुपैयाँ थियो‚ तर १५ लिइन्थ्यो र विद्यार्थीलाई ४५ प्रतिशत छुट गरेर ७ रुपैयाँ लिनुपर्नेमा १० रुपैयाँ नै लिइन्थ्यो ।

दैनिक ६५ लाख रुपैयाँ ठगी
काठमाडौँमा झण्डै ४५ लाख मासिक बसोबास गर्ने अनुमान छ । यीमध्ये  दैनिक २० लाख निजी सवारीसाधनमा र झण्डै १३ लाख जना सार्वजनिक सवारीमायात्रा गर्ने अनुमान गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

१३ लाख मानिसले दुईतर्फी यात्रा गर्दा दैनिक २६ लाख पटक सार्वजनिक सवारीलाई भाडा बुझाइन्छ । एक जनासँग २ देखि ३ रुपैयाँ बढी असुल्न सक्ने भएकाले औसतमा साढे २ रुपैयाँ बढी भाडा असुल्छन् भनेर मान्दा पनि सर्वसाधारण यात्रुबाट सार्वजनिक यातायातले दैनिक ६५ लाख  रुपैयाँ ठगी गरिरहेको तथ्याङ्क निकाल्न सकिन्छ ।

के भन्छन् यातायात व्यवसायी ?
यातायात व्यवसायी राष्ट्रिय महासंघले भने खुद्रा पैसा वा सिक्काको अभाव भएकाले खुद्रा भाडा फिर्ता दिन समस्या भएको दाबी गरेको छ । महासंघका उपमहासचिव रवि रिमालले सकेसम्म त फिर्ता दिने गरिएको‚ तर सिक्का पैसाको अभाव हुने भएकाले चाहेर पनि फिर्ता दिन नसकिएको दाबी गरे । सरकारले खुद्रा पैसाको प्रबन्ध गरिदिए व्यवसायीलाई सहज हुने र त्यसो भएको खण्डमा बढी भाडा लिनेलाई कारबाही गर्नुपर्ने उनले बताए ।

अब सरकारले कार्ड सिस्टम लागू गरेपछि समाधान हुने महासंघका उपमहासचिव रिमालको भनाइ छ । उनका अनुसार भाडादर निर्धारणका क्रममा सरकारले अब छिट्टै सार्वजनिक यातायातलाई कार्ड सिस्टम लागू गर्ने बताएको छ । आफूहरूले राउन्ड फिगरमा भाडादर लागू गर्न प्रस्ताव गरे पनि सरकारले नमान्दा यो समस्या आएको उनको दाबी छ ।

भाडादर निर्धारण गर्न सरकारले तोकेका १३ वटा ‘फ्याक्टर’मै मूल्यवृद्धि भएकाले भाडादर वृद्धि गरिएको उनको भनाइ छ ।

सरकार भन्छ सिक्का बाेक्नपुर्छ 

तर, यातायात व्यवसायीको यस्तो तर्कसँग सहमत छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे । उनी भन्छन्‚ ‘सिक्काको अभाव छैन, यातायात व्यवसायीको बहानामात्रै हो । विगतमा पनि १३ रुपैयाँ न्यूनतम भाडा हुँदा १५ रुपैयाँ लिएर २ रुपैयाँ सिक्का फिर्ता गर्ने गरिएको थियो । सिक्का बोकेर यातायात व्यवसायी हिँड्ने गरेका थिए । अब पनि यात्रु र व्यवसायी दुवैले सिक्का बोक्नुपर्छ ।’

उनका अनुसार १३ रुपैयाँबाट एक पटक भाडा बढाएर २० रुपैयाँ पुर्‍याउँदा यात्रुलाई नै मर्का पर्ने भएकाले २३ प्रतिशतले भाडा बढाइएको हो । २३ प्रतिशतले भाडा समायोजन गर्दा न्यूनतम भाडा १८ र त्यसपछि निर्धारित किलोमिटरमा २३ र २७ रुपैयाँ पर्न गएको हो ।

‘भाडा बुझाउन डिजिटल कार्ड प्रणाली लागू गर्न सके यो समस्या नै रहने थिएन,’ उनले भने, ‘यस विषयमा तयारी अघि बढेको छ‚ तर कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन । त्यतिन्जेलका लागि सिक्कालाई नै दुवै पक्षले प्रयोगमा ल्याउनुपर्छ ।’

बढी भाडा लिनेलाई कारबाही हुन्छ ट्राफिक प्रहरी
तोकिएको  भन्दा धेरै भाडा लिने सार्वजनिक सवारीसाधनलाई कारबाही हुने ट्राफिक प्रहरीले दाबी गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता संजिब शर्मा दासले बढी भाडा लिने सवारीसाधनलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना लिएर छोडिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *