छथर गाउँपालिकामा बसाइँ सरी आउनेलाई अनुदान नीति कति सफल ?

विराटनगर । तेह्रथुमको छथर गाउँपालिकामा यस्तो गाउँपालिका हो जहाँ अरू पालिकाको भन्दा केही फरक काम गरिएको छ । स्थानीय तह कार्यान्वायनमा जाँदै गर्दा आएका जनप्रतिनिधिको एउटै उद्देश्य थियो कसरी हुन्छ बसाइँसराइ दर घटाउनु । गाउँमा भएको खानेपानीको अभाव, शिक्षा र स्वास्थ्यको सहज पहुँच नभएका कारण गाउँमा भएकाहरू बसाइँ सरेर सहरमा झर्ने र गाउँ नै खाली हुने अवस्था आयो । पालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले एउटा निर्णय गरे, ‘बसाइँ सरेर छथरमा आउने नागरिकलाई १ लाखदेखि ५ लाखसम्म व्यवसाय अनुदान दिने ।’ यो नीति बनाई रहँदा त्यसको कार्यान्वायनको अवस्था कस्तो होला भनेर कुनै आकलन थिएन ।

पहिलो कुरा त गाउँबाट अन्यत्र बसाइँसराइ दर रोक्नु थियो भने पालिकामा बसाइँसराइ दर बढाउनु पर्ने थियो, त्यसका लागि बसाइँसराइ सरेर आउनेलाई अनुदानको घोषणाले केही राहत हुने आशा गरेर यो कार्यक्रम लागू भएको थियो । अघिल्लो वर्ष १८ परिवार विभिन्न जिल्लाबाट छथर गाउँपालिकामा बसाइँ सरेर आएका थिए भने यो वर्ष ३२ घर परिवार बसाइँ सरेर आएको पालिकाका अध्यक्ष सन्तविर लिम्बूले बताए ।

तत्कालीन ६ गाविस गाभेर बनाइएको छथर गाउँपालिकामा बसाइँसराइ दर उच्च छ । बसाइँसराइदर रोक्न र जनसख्या सन्तुलन कायम गर्न पनि यस्तो नयाँ जुक्ती निकालीएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । बसाइँ सरेर आउने र बसाइँँ सरेर जाने दरको तालमेल मिलाउनको लागि पालिकाले व्यवसाय प्रवर्द्धन कार्यक्रम ल्याएको थियो । ‘बसाइँसराइ नियमित प्रक्रिया हो कसैले रोकेर रोक्न सक्दैन तर सन्तुलन मिलाउनको लागि हामीले बसाइँ सरेर पालिकामा आउनेहरूको लागि व्यवसाय अनुदान कार्यक्रम ल्याएका थियौँ, लिम्बूले मकालुखबरसँग भने, ‘पहाडको बसाइँसराइ तीव्र भएर असन्तुलित रहेको र अबको १० वर्षमा पहाड खाली हुने देखिएपछि त्यसको सन्तुलन मिलाउन यो कार्यक्रम शुरू भएको हो ।’

बसाइँसराइ दुर्गमको अलिक सुगम, हिमालको पहाड, पहालको मधेश, गाउँको सहर, सहरको काठमाडौँ र काठमाडौँ भएकाहरू सुविधा सम्पन्न देशमा जाने प्रचलन नै रहेकोले यो रोक्न नसकिएपनि केही कमी ल्याउन सकिएको उनको भनाइ छ। यो सिम्बोलिक अभियानको रूपमा शुरू भएको लिम्बूको भनाइ छ। वार्षिक ५० घर बसाइँ सरेर जान्थ्यो भने त्यो रोक्न सफल मात्र भइयो भने या अर्को ठाउँबाट त्यही अनुपातमा बसाइँ सरेर आएभने सन्तुलन मिल्ने उनको भनाइ छ।

‘बसाइँ सरेर आउनेहरूलाई व्यवसायीक अनुदान दिने भनिएको छ, उनले भने, हामीले पहिलो कुरा जनसंख्याको सन्तुलन मिलाउन खोजेका छौँ भने उत्पादनसँग जोडेर जीविको पार्जनमा भुमिका खेलेको छ ।’ अन्य क्षेत्रबाट आउनेलाई व्यवसायीक अनुदान दिने भनिएपनि बसाइँसराइ रोक्न त्यो मात्र पर्याप्त नभएको उनले बताए । सुख्खाग्रस्त क्षेत्र खानेपानीको अभावले गाउँ नै खाली हुने अवस्था आएको थियो, त्यसको लागि खानेपानीको व्यवस्था गाउँ गाउँसम्म पुर्याउने काम भएको र कतिपय ठाउँमा कामहरू भइरहेको उनले बताए । ‘नागरिकको सेवा सुविधा र पुर्वाधारको कुरा छ, अध्यक्ष लिम्बूले भने, सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गर्ने कामसँगै पालिकाभित्रका ११७ वटा टोलका सबै ठाउँमा सडक पुगेको छ।’

यो पुग नपुग ५ वर्षकोबीचमा छथर गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिको व्यवस्थापनलाई ध्यान दिएको उनी सम्झन्छन् । गाउँमा व्यवसाय प्रवर्द्धनका लागि पनि काम भएको छ । बाख्रा पालन, दुग्ध उत्पादनका कार्यक्रम, तरकारी जोन कार्यक्रम शुरू गरेको छ। बाख्रा ब्लक, सुन्तला, फलफुल, किवी, अकबरे खुर्सानी, पकैको बिउ उत्पादन पकेट क्षेत्रको रूपमा विकास हुनुले नागरिकलाई उत्पादनसँग जोडेर व्यवसाय प्रवर्द्धनको काम भएको लिम्बूले बताए ।

‘एक टोल एक उत्पादन–एक टोल एक विकास निर्माणको अभियानको काम भएको छ, लिम्बूले भने, यो अभियानले पालिकाका ११७ टोलमा नै विकास निर्माण र हरेक टोलमा उत्पादनका कामहरू भएका छन् ।’ पहाडी क्षेत्रको समस्या भनेको स्वास्थ्य उपचारको हो । दीर्घरोगीलाई निशुल्क उपचार बिमा र औषधिको व्यवस्था गरिएको लिम्बूले दाबी गरे । दीर्घ रोगीका लागि ५ हजार देखि २५ हजारसम्मको औषधि उपचारको लागि सहयोग गरिएको उनको भनाइ छ।

आफ्नो पुर्ख्याैली जमिन बाँझै छोडेर गाउँले बसाइँ हिँड्न थालेपछि हरेक बस्तीमा वर्षेनी जनघनत्व घटिरहेकाले जनसंख्या बढाउन बसाइँ सरेर आउनेलाई व्यावसायिक अनुदान, स्वास्थ्य उपचारमा सहयोग, सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना, व्यावसायिक कृषि खेती, खानेपानीको व्यवस्थापन, ११७ टोलमा नै भौतिक पूर्वाधार विकासको नीति लिइएको लिम्बूले जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमबाट बसाइँ सरेर आउनेहरूको लागि व्यवसायका आधारमा १ देखि ५ लाख दिने नीति अवलम्बन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *