स्थानीय निर्वाचनमा देशैभरिबाट उम्मेवार उतार्ने राप्रपाकाे निर्णय

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनमा सबै तहमा उम्मेद्वार खडा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहीवार बसेको राप्रपा पदाधिकारी बैठकले वैशाख ३० गते हुने निर्वाचनमा सबै तहमा उम्मेद्वार खडा गर्ने र पार्टीको संगठन सुदृढ र क्रियाशील गर्ने निर्णय गरेको हो ।

निर्वाचनलाई मध्यनजर गर्दै घर दैलो, आमसभा लगाएका कार्यक्रम गर्ने र कार्यक्रममा शीर्ष नेताहरूलाई नै सहभागी गराउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजना बारे छलफल भएको थियो ।

यस्तै फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने प्रवक्ता श्रेष्ठले बताए । यस्तै बैठकले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै, उनले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि पुनः स्पष्ट पारिएको बताए । प्रवक्ता श्रेष्ठले पार्टी परित्याग गर्ने कमल थापाको निर्णय अनपेक्षित रहेको उल्लेख गरे ।

यसैबीच राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको भन्दै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गरेका छन् । उनले कमल थापाको निर्णय अपर्झट आएको र दुःखलाग्दो भएको पनि बताए ।

राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *