मुद्रास्फिति ५.६५ प्रतिशतले बढ्यो, घ्यू र तेलमा सबैभन्दा बढी मूल्यवृद्धि

काठमाडाैँ । अघिल्लो वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को पुसमा मुद्रास्फीति बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको पुस महिनासम्मकाे देशकाे वर्तमान आर्थिक अवस्था प्रतिवेदनकाे विवरणअनुसार यस वर्षको पुसमा मुद्रास्फीति(महँगी) ५.६५ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो। पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर(खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ। २०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ।

पुस महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७७ पुसमा यी क्षेत्रहरूमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो। २०७८ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६।१८ प्रतिशत रहेको थियो।

गत पुस महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ। पुस महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ। २०७८ पुसमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.७७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.७२ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *