नेपाली राजदूतावास मलेसियाबाट विद्युतीय राहदानी वितरण सुरु

काठमाडौँ । नेपाली राजदूतावास, मलेसियाबाट बुधबार एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी उक्त कार्यको शुभारम्भ गरिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।

राहदानी विभागबाट उनको राहदानी प्रिन्ट समेत गरेर सफलता साथ परीक्षण गरिएको छ।

दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्‍रोल्मेन्ट गरेको छ। राजदूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र त्यसपछि नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने जनाएको छ ।

यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने समेत विभागले जनाएको छ।

विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सहभागी भएका थिए । त्यस्तै उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक एल्भिन चाय, मलेसियामा कार्यरत गैरआवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो।

कार्यक्रममा कार्यवाहक राजदूत मोतिबहादुर श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्दै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद ज्ञापन गरे । अर्यालले मलेसियामा बसोबास गर्ने नेपालीहरुलाई बधाइ दिँदै अब मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =