तत्काललाई कोरोना बढ्ने सम्भावना अब टर्‍याे : डा. पुन

मृत्युदर बढ्नुमा संक्रमितप्रतिको बेवास्ता मुख्य कारण

काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने दैनिक तथ्यांकअनुसार संक्रमण दर ओरालो लागिरहेको छ । एक समय परीक्षण गराएकामध्ये झण्डै आधाजसोमा संक्रमण देखिएकोमा अहिले क्रम घटेर एक चाैथाइमा आएको देखिन्छ ।

कोरोना संक्रमणदर फेरि बढ्ने अवस्था अब न्यून रहेको भाइरस तथा सरुवा रोग विशेषज्ञले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले अब तत्काललाई कोरोनाको संक्रमण दर फेरि बढ्ने अवस्था नदेखिएको बताए । अब संक्रमण घट्दो दरमा रहेको र फेरि तत्कालै ह्वात्तै बढ्ने सम्भावना कम मात्र रहेको उनले मकालुखबरलाई बताए ।

यस्तै कोरोना भाइरसको नयाँ भेरियन्ट बीए टू पनि नेपालमा फैलिएको तर त्यो खासै घातक नरहेको डा. पुनको भनाइ छ । कोरोना संक्रमितको स्वाब संकलन गरी अधिकांश नमुनाको जिन सिक्वेन्सिङ गर्दा समेत नयाँ भेरियन्ट भेटिए पनि खासै घातक नदेखिएको उनले बताए ।

तर संक्रमित घटे पनि मृतकको संख्या भने घट्न सकेको छैन । मन्त्रालयको तथ्यांकअनुसार दैनिक ८ देखि १६ जनासम्म कोरोना संक्रमितको ज्यान गइरहेको छ । मंगलबार थप १,९५७ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

मृत्युदर नघट्नुमा मुख्य कारण घरमै रहेका संक्रमितप्रतिको बेवास्ता मुख्य कारण हुन सक्ने सरूवा रोग विशेषज्ञ डा. पुनले बताए । ‘कोरोनाको नयाँ भेरियन्टले सबैतिर संक्रमण फैलियो तर घातक देखिएन । घरका सबै सदस्यमा कोरोना हुँदा ज्येष्ठ नागरिक र दीर्घ रोगीमा पनि संक्रमण फैलियो । लक्षण सामान्य भए पनि अरूभन्दा उहाँहरूको अवस्था गम्भीर बनेको र मृत्युदर समेत बढेको हो’ उनले भने ।

डा. पुनका अनुसार कोरोनाको नयाँ भेरियन्टले दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बढी समस्या देखिएको छ । परिवारका अन्य सदस्य संक्रमण भएर पनि चाँडो काममा फर्कने भएका कारण ज्येष्ठ नागरिक र दीर्घ रोगीको उचित हेरचाहमा ध्यान नपुगेको हुन सक्ने डा. पुनले बताए ।

‘मृतक मात्र होइन, अस्पतालमा भर्ना भएका अधिकांश संक्रमित ज्येष्ठ नागरिक र दीर्घरोगी नै देखिन्छन् । उनीहरूको स्वास्थ्य अवस्थाप्रति परिवारले चासो दिँदा यो अवस्था छिट्टै घट्न सक्छ । केही दिन परिवारले उहाँहरूको स्वास्थ्यबारे गम्भीर भइदिनुपर्छ’,  डा. पुनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *