महिला पत्रकारहरूको संस्थामाथि बनेको डकुमेन्ट्री अस्करको नोमिनेसनमा

काठमाडाैँ । महिला पत्रकारहरूकाे संस्था ‘खबर लहरिया’माथि बनेकाे डकुमेन्ट्री फिल्म ‘राइटिङ विथ फायर’ अस्करकाे नाेमिनेसनमा परेकाे छ ।
भारतकाे बुन्देलखण्डमा रहेकाे ‘खबर लहरिया’ त्यहाँका महिला पत्रकारहरूले सञ्चालनमा ल्याएकाे संस्था हाे । संस्थामाथि बनेकाे डकुमेन्ट्रीकाे निर्माण रिन्टु थाेमस र सुष्मित घाेषले गरेका हुन् । डकुमेन्ट्रीलाई अस्करले ‘सर्वश्रेष्ठ डकुमेन्ट्री फिचर’काे लागि मनाेनित गरेकाे हाे ।
डकुमेन्ट्रीमा खबर लहरिया समूहले अखबारलाई डिजिटल मिडियामा परिणत गर्दाकाे यात्रालाई देखाइएकाे छ । याे अस्करका लागि मनाेनित हुने पहिलाे भारतीय फिचर डकुमेन्ट्री समेत हाे ।
True story – your Documentary Feature nominees are… #Oscar pic.twitter.com/wCvJ0Ao6Jr
— The Academy (@TheAcademy) February 8, 2022
खबर लहरिया भारतकाे उत्तर प्रदेश र मध्य प्रदेशमा रहेकाे छ । यसले ग्रामीण इलाकामा आधारित पत्रकारिता गर्ने गरेकाे छ । जसमा केबल महिलाहरू कार्यरत छन् । उनीहरू ग्रामीण पत्रकारिताका अलावा पत्रकारिता प्रशिक्षणसमेत गर्दछन् ।
खबर लहरियाकाे शुरूवात सन् २००२ मा अखबारकाे रूपमा भएकाे थियाे । २०१३ मा यसले आफ्नाे वेबसाइट सञ्चालनमा ल्याएकाे थियाे । त्यस्तै २०१५ मा युट्युब सञ्चालनमा ल्याएकाे लहरियाले २०१९ मा सब्सक्रिप्सनमा आधारित पत्रकारिता शुरू गरेकाे थियाे । हाल संस्थाले प्रतिमहिना झण्डै १ कराेड मानिसहरूमाझ खबर सम्प्रेषण गरिरहेकाे छ ।
संस्थाकाे वेबसाइटअनुसार खबर लहरिया खासगरी ग्रामीण विकास र सशक्तिकरणका लागि सरकारले बनाएका याेजना-दाबी र तिनकाे वास्तविकताबीचकाे अन्तर उजागर गर्ने गर्दछ ।
Oh My God!!!! Writing With Fire just got nominated for @TheAcademy Award. Oh My God!!!!!!!! #OscarNoms #WritingWithFire pic.twitter.com/X9TlcCF2Xd
— Rintu Thomas (@RintuThomas11) February 8, 2022








