निर्वाचन अघि नै एसईई, परीक्षा तालिका सार्वजनिक हुँदै

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज वा भोलिभित्र तालिका सार्वजनिक हुने बताए ।

रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम शुरू गरिसकेको छ । परीक्षा नियन्त्रक रायमाझीले नेपाल भने, ‘रापबोर्डले वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी तयारी थालेको छ ।’

बोर्डको अधिकारीका अनुसार निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले १० दिनअघि नै परीक्षा सक्ने गरी तालिका निकाल्ने तयारी भएको छ । उनका अनुसार वैशाखको ११ गतेभित्र परीक्षा शुरू गर्नेगरी तालिका तयारी भइरहेको छ । निर्वाचन आयोगले सबै सरकारी कर्मचारीलाई निर्वाचन अधिकृत वा अन्य कामका लागि खटाउने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र अनलाइनबाट पठाउने हो वा छापिएको प्रश्नपत्र तयार गर्ने हो भन्ने विषयमा छलफल शुरू गरेको छ । बोर्डले गत वर्ष कक्षा १२ को प्रश्नपत्र अनलाइनमार्फत पठाएको थियो । इन्टरनेटको सुविधा नभएका केही हिमाली जिल्लाका लागि मात्रै प्रश्नपत्र छपाइ गरिएको थियो ।

तर, पनिकाले गोप्यता कायम गर्न छापिएको प्रश्नपत्र पठाउनुपर्ने तर्क राखेको भए तापनि छपाइ गर्ने कि अनलाइनबाट पठाउने भन्ने विषय छलफलकै क्रममा रहेको परीक्षा नियन्त्रक रायमाझीले बताए । बोर्डले यो वर्ष उत्तरपुस्तिका छपाइ र ढुवानी गर्ने जिम्मा प्रदेश सरकारलाई जिम्मा दिएको छ । सोही अनुसार उत्तरपुस्तिका छपाइ भइरहेको बोर्डको भनाइ छ ।

परीक्षा नियन्त्रणक रायमाझीका अनुसार जिल्ला शिक्षा समन्वय इकाइले हालसम्म करिब ७० जिल्लाबाट केन्द्र छनौट गरी पनिकामा पठाइसकेको छ । करिब ७ वटा इकाइले केन्द्र कायम गरी पठाउने तयारी गरिरहेको छ । यो वर्ष करिब ५ लाख ८ हजार परीक्षार्थी रहने अनुमान गरिएको छ । विद्यालय सञ्चालक र बोर्डका केही सदस्यले कम्तीमा पनि दुई महिना भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्ने राय दिएपछि बोर्डले फागुन १ गतेदेखि दुई महिना कक्षा सञ्चालन गरी परीक्षा लिने निर्णय गरेको हो ।

परीक्षाको विषयमा पनिकाले प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, बोर्डअन्तर्गतको सातवटै प्रदेश कार्यालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका सचिव, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख लगायतसँग छलफल गरिसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष शिक्षा नियमावली संशोधन गरी कोभिड-१९ संक्रमणको जोखिम नघटेको कारण जनाउँदै आन्तरिक मूल्यांकनबाट परीक्षा लिने निर्णय गरेको थियो । गत वर्ष जेठ १३ बाट एसईई परीक्षा शुरू भएको थियो । –नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *