भारतले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

काठमाडाैँ । यू-१९ एकदिवसिय विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । वेस्टइन्डिजमा सम्पन्न भएको प्रतियोगितामा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत पाँचौँ पटक विश्व च्याम्पियन बनेको हो ।

शनिबार राति भएको फाइनलमा भारतको जितमा निशान्त सिंधु ५० रन तथा दिनेश बाना १३ रनमा अविजित रहँदै टीमलाई जित दिलाएर पेभिलियन फर्किएका थिए । २०११ मा महेन्द्र सिंह धोनीले श्रीलंकाविरुद्ध छक्का प्रहार गर्दै जित दिलाएको झल्को दिँदै बानाले छक्का प्रहार गर्दै भारतलाई च्याम्पियन बनाएका थिए ।

भारतका लागि अलराउन्डरराज बावा हिरो साबित भएका थिए । उनले ३१ रन दिएर इंग्ल्यान्डको पाँच विकेट लिए भने ३५ रनको सुझबुझपूर्ण इनिङ समेत खेले । त्यस्तै उपकप्तान शेक रशीदले ५० रनको अर्धशतकीय इनिङ खेले ।

यसअघि भारत २०००, २००८, २०१२, २०१८ र २०२२ मा गरी पाँच पटक उपाधि जित्न सफल भएको छ । यो पटक भारत अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो ।

फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले भारतलाई जितका लागि १९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्दै विश्व च्याम्पियन बन्यो ।

खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले सर्वाधिक ९५ रन जोड्दा जेम्स सेल्स ३४ रनमा नटआउट रहे । त्यस्तै जर्ज थोमसले २७ रन बनाउँदा एलेक्स होर्टन र रेहन अहमेदले समान १०-१० रन बनाएका थिए ।

एक समय ७ विकेट गुमाएर ९१ रन मात्र बनाएको अवस्थामा इंग्ल्यान्डलाई आठौँ विकेटका लागि जेम्स रिउ र जेम्स सेल्सले ९३ रनको साझेदारी गर्दै केही राहत दिलाएका थिए । भारतका राज बवाले ५ विकेट लिँदा रभि कुमारले ४ विकेट हात पारे । थप एक विकेट कुशल ताम्बेको नाममा रह्यो ।

सामान्य लक्ष्य पछ्याएको भारतले धिमा सुरुवातका बाबजुद सहज रूपमा लक्ष्य पुरा गरेको थियो । यसअघि भारत २०००, २००६, २००८, २०१२, २०१८, २०२० र २०२२ गरी ८ पटक फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *