कर्णाली प्रदेश : तीन मन्त्रालय नछाड्ने समाजवादीको अडान

सुर्खेत । आइतबारसम्म हुने भनिएको कर्णाली सरकार विस्तार थप पेचिलो बनेको छ । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ । आइतबार हुने भनिएको मन्त्रिपरिषद् विस्तारमा एकीकृत समाजवादीलाई दुई मन्त्रालय भाग लगाएपछि समाजवादीले असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने चेतावनी दिएको हो ।

समाजवादीले गत वैशाख २ को सहमति अनुसार नै अघि बढ्ने अडान कायमै राखेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिन माओवादीबाट गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंह, कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही र समाजवादीबाट जुम्लाका पदम रोकायालाई मन्त्री बनाउने तयारी गरेका छन् ।

तर, समाजवादीले आफ्नो अडान कायमै राखेपछि मन्त्रिमण्डल विस्तार कार्यमा असर पर्ने देखिन्छ । आठ सदस्यीय कर्णाली मन्त्रिपरिषद्मा यसअघि मुख्यमन्त्री शाही सहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।

यस्तै, पूर्वसहमति अनुसार आफ्नो पाटीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायम राख्दै केन्द्रको पत्रअनुसार दुई मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने समाजवादीले जनाएको छ । पूर्व सहमति अनुसार पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएको र सोही अनुसार जीवनबहादुर शाही मुख्यमन्त्री बनेको स्मरण गराउँदै सहमति अनुसार तीन मन्त्रालय नछोड्ने एकीकृत समाजवादीका प्रदेश अध्यक्ष समेत रहेका पूर्व मन्त्री अम्मरबहादुर थापाले बताए ।

यदि तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने समाजवादी कर्णाली प्रदेशले चेतावनी दिएको छ । यसबारे शीर्ष नेतालाई दबाब दिन नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापा शनिबार काठमाडौँ पुग्दैछन् ।

कर्णाली सरकार विस्तारबारे प्रचण्ड, देउवा र नेपालबीच भएको भनिएको सहमति विपरीत दुवै नेताहरू कर्णालीमा तीन मन्त्रालय पाउनुपर्ने र समाजवादीकी देवी ओलीलाई पनि मन्त्री बनाउनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *