कमिसन हत्याउन तीन सहकर्मीको एकै प्रकृतिले हत्या

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा भएको हत्याको विषयमा प्रहरीले ९ दिनपछि संलग्नलाई सार्वजनिक गरेको छ । धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा फेला परेको मृत शवको बारेमा अनुसन्धान गर्ने क्रममा तीनजनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । गत माघ १२ गते साँझ साँढे ५ बजे दिलिप सिंहको उखुबारीमा खनेको जस्तो नयाँ माटो शंकास्पद अवस्थामा देखिएपनि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको कमान्डमा गएको प्रहरी टोलीले उखुबारीको दक्षिण पूर्व उखुबारीमा शंकास्पद खाल्डो पुरेको अवस्थामा रहेको र सोही स्थानबाट ३० मिटर पश्चिम उत्तरतर्फ अर्को शंकास्पद खाल्डो फेला पारेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । प्रहरीले १२ गते नै राती ५ फिट गहिरो खाल्डोभित्र तत्काल ३५/४० वर्षको पुरुष मानिस मृत अवस्थामा फेला पारेको थियो । त्यस्तै अर्को दिन १३ गते जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीको कमाण्डमा गएको टोलीले अर्को शव फेला पारेको थियो । यसरी फेला परेको पहिलो शव सप्तरीको शम्भुनाथ नगरपालिका ४ का शम्भु कुमार चौधरीको रहेको र दोस्राे दिन फेला पारेको शव धरान उपमहानगरपालिका ३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । शवहरू १३ गते नै उत्खनन् भएको भनिएपनि प्रहरीले घटनाको बारेमा आधिकारिक विवरण (आज) शुक्रवार बिहान सार्वजनिक गरेको हो ।

यस्तो छ घटना
व्यावसायिक कामको सिलसिलामा मृतक राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र प्रहरीले पक्राउ गरेको व्यक्ति मध्येका एक अनिल कुमार मण्डल मंसिर २९ गते विराटनगर आएको प्रहरीले जनाएको छ । सँगै विराटनगर आएका र सँगै बसेका उनीहरू मध्येका श्रेष्ठलाई पुस ५ गते र चौधरीलाई पुस ७ गते हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दशन जिसीका अनुसार दुबै शव भेटिएको भन्दा करिब १०० मिटर उत्तर कमलपुर जाने नहरमा भएको थियो । कमलपुर जाने नहरमा हत्या गरेर उखुबारीमा लगेर गाडेको प्रहरीको दाबी छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा सम्पर्कविहीन रहेका मोहन लिम्बूको पनि हत्या गरी गाडिएको अवस्थामा छ माघ २० गते बिहिबार खुल्न आएको प्रहरीले जनाएको छ । अपराध महाशाखा काठमाडाैँसँग समन्वय गरी ललितपुरको गोदावरी नगरपालिका १२ ठेचो चरङ्गखेल स्थित गोदाम घर रहेको कम्पाउण्ड एरियामा उनी मृत अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । तेह्रथुमको संक्रान्ति २ का ६३ वर्षीय लिम्बूको मंसिर २८ गते हत्या गरी गाडेको पनि प्रहरीले जनाएको छ । यी सबै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई सार्वजनिक गरेको हो ।

को-को परे पक्राउ ?
लेनदेनका कारण यी सबै व्यक्तिको हत्या भएको हुनसक्ने बताएको प्रहरीले मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दिनानाथ सोनारलाई प्रक्राउ गरेको छ । उनलाई विराटनगर ५ दामाबन्दी चोकबाट हिजो पक्राउ गरेको हो । त्यस्तै सिरहाको सिरहा नगरपालिका २१ का वर्ष ३१ को अनिल कुमार मण्डललाई काठमाडाैँबाट पक्राउ गरेको हो । उनलाई काठमाडौँको बल्खुबाट बिहिवार नै पक्राउ गरेको प्रहरी उपरिक्षक जिसीले जानकारी दिए । हत्यामा संलग्न रहेको भनिएका जिल्ला मोरङ धनपालथान ७ कमलपुर पश्चिम टोल बस्ने वर्ष ६२ को नासिर आलमलाई विराटनगर १७ मटेरूवा बिहिबार पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । बिहान पत्रकार सम्मेलन गरि ३ जनाको सार्वजनिक गरेको प्रहरीले साँझ थप एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिको बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन । पक्राउ परेका सुनसरी घर भएका प्रतिवादी रहेको प्रहरीले पुष्टि गरेको छ । यो घटनामा संलग्न रहेको भनिएका अन्य दुईजना पक्राउ पर्न बाँकी रहेको प्रहरीको दाबी छ ।

कमिसन हत्याउन तीन हत्या
कमिसन एक्लै आफ्नो हातमा पार्न सिरहा घर भई काठमाडाैँंको बल्खुमा अनिल कुमार मण्डलले हत्या गराएको खुलेको छ । भाडाका पेसेवर झिकाएर तीन जना साझेदार साथीको हत्या गरेको मोरङ प्रहरीको दाबी छ । ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएबापत आउने १ करोड ५० लाख रुपैयाँ कमिसन एक्लैले हात पार्न मण्डलले फरकफरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधी झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भई काठमाडाैँ बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भई भक्तपर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भई काठमाडाैँं बस्दै आएका ३२ वर्षीय शम्भु कुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । तीन जनाको हत्यामा आधा दर्जनको संलग्न रहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *