मूर्ति चाेरीकाे मुद्दामा जेल परेका व्यक्तिलाई मन्त्री बनाउँदै माओवादी

सुर्खेत । कर्णालीमा नेकपा माओवादीबाट गैरसांसदलाई मन्त्री बनाउने तयारी भएकाे छ । माओवादीबाट कर्णाली प्रदेशमा मन्त्रीका लागि हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने तयारी थालिएको हो ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले माग २३ गते आइतवार कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

नेकपा माओवादी केन्द्रले नैतिक पतन देखिने र फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय भोगेका र पाँच हजार जरिवाना तिरेका छिरिङ्ग दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउन सिफारिस समेत गरेको हो ।

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार लामालाई ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो ।

लामालाई १२ सय वर्ष पुरानो मूर्ति चोरीको आरोप

मन्त्री हुन लागेका लामा चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पुरानो मूर्ति चोरी गरेको आरोपमा जेल बसेका नेता हुन् ।

उक्त मूर्ति चोरीको आरोपमा लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएपछि जिल्ला अदालत हुम्लाका तत्कालीन न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते फैसला सुनाएका थिए । उक्त फैसलामा उनीसहित दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो । तर लामाले भने २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेको पाइएको छ ।

अधिवक्ताहरूका अनुसार कुनै पनि व्यक्ति कैद भुक्तान गरेको वर्ष दिन नपुग्दै सार्वजनिक पदमा बहाल हुनु नैतिकताका आधारमा उपयुक्त नहुने मानिन्छ ।

यस्तै, माओवादीले मन्त्रीमा गैर–सांसद हुम्लाका कार्चेन लामासहित जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने निर्णय गरेको छ । माओवादीबाट बिन्दमान बिष्ट यस अघि नै आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया

One thought on “मूर्ति चाेरीकाे मुद्दामा जेल परेका व्यक्तिलाई मन्त्री बनाउँदै माओवादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *