भोलिसम्म वर्षा र हिमपात, आइतबारबाट सुधार

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको हो ।

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । ‘देशभर मौसम बदली भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा भइरहेको छ,’ उनले भने ‘सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशसहित पूर्वको उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।’

मौसमी प्रणालीको प्रभाव बिस्तारै पश्चिमबाट पूर्वतिर सरेको छ । ‘पश्चिमी वायुको प्रभाव बिस्तारै पूर्वतिर सर्दै जान्छ । आज बागमती प्रदेश र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । उपत्यकामा आज रातिदेखि वर्षा हुन्छ भने तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन्छ’ मौसमविद् प्रधानाङ्गले भने ।

वर्षा र हिमपातको क्रम शनिबार दिनभर रहने उनले बताए । आज देशभर सबैजसो क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । शनिबार पनि गण्डकी, बागमती र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानाङ्गले बताए । मुलुकका केही भागमा हल्का वर्षाको सम्भावना भए पनि शनिबारदेखि भने मौसममा सुधार आउने उनको भनाई छ । भारी वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *