शितकालीन ओलम्पिकः बहिष्कारबीच वैभव र रवाफ देखाउँदै चीन

काठमाडौँ । केही तनाव र विवादकाबीच २४ औं शितकालीन ओलम्पिक प्रतियोगिता चीनको राजधानी बेइजिङमा आज साँझबाट शुरु हुँदैछ । प्रतियोगितामा ९१ देशका ३ हजार खेलाडीले १०९ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताबारे राष्ट्रपति सी जिन पिङले भनेका छन् ‘विश्वको नजर अहिले चीनतिर केन्द्रित छ र चीन तयार छ, हामी हामीले गर्नसक्ने जति राम्रो गरेर विश्वलाई देखाउने छौँ । हामी विश्वलाई सु-व्यवस्थित, सुरक्षित र शानदार खेलको नमुना देखाउने छौँ ।’

विरोध र दबाबकाे मञ्च
यो प्रतियोगिता शुरू हुनु अघि नै विरोधका स्वरहरू सुनिएका थिए । मानवअधिकार उल्लंघन गरेको भन्दै केही देशले प्रतियोगिताको कूटनीतिक बहिष्कार गर्ने निर्णय नै गरेका छन् । अमेरिकासहित अस्ट्रेलिया, क्यानडा, भारत सहितका देशले ओलम्पिकलाई विरोध गर्ने मञ्चका रूपमा लिँदै प्रतियोगिताको कूटनीतिक बहिष्कार गर्ने भएका हुन् । तर, बहिष्कार गर्नुपर्ने अमेरिकी प्रस्तावलाई फ्रान्सले खेलमाथिको राजनीतिको संज्ञा दिएसँगै युरोपले नै प्रतियोगिताको कूटनीतिक बहिष्कार गर्ने दाबी गलत हुन पुगेको थियो ।

दुवै ओलम्पिक आयोजना गर्ने बेइजिङ पहिलो शहर
शितकालीन र गृष्मकालीन ओलम्पिक आयोजना गर्ने बेइजिङ अब पहिलो सहर बन्ने भएको छ । बेइजिङले १४ वर्षअघि २००८ मा गृष्मकालीन ओलम्पिकको भव्य र सफल आयोजना गरेको थियो । जुन ओलम्पिकलाई अहिलेसम्मकै भव्य ओलम्पिकका रूपमा सम्झना गरिन्छ । प्रतियोगिताहरू भने बेइजिङ आसपासका भेन्युहरूमा हुने छन् । बेइजिङमा २००८ को ओलम्पिकका भेन्युहरूलाई अहिलेको लागि तयार गरिएको छ ।

प्रतियोगिताका लागि सबै स्थानमा कृत्रिम बरफको प्रयोग गरिएको छ। यद्यपि खेल अघि झान्झिया वरिपरिको इलाकामा प्राकृतिक हिमपात पनि भएको थियो । नक्कली बरफ बनाउनका लागि ठूलो मात्रामा पानीको खपत गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रतियोगिताका खेल स्थलका लागि चीनले कुनै कन्जुस्याँइ गरेको छैन ।

उद्घाटनको चासो
शुक्रबार स्थानीय समय अनुसार साँझ ८ बजेर ८ मिनेट जाँदा प्रतियोगिताको उद्घाटन भएकाे छ । बेइजिङ उत्तरमा अवस्थित चौथो चक्रपथको ठिक बाहिर रहेको चराको गुँड आकारको रंगशालामा प्रतियोगिताको उद्घाटन भएकाे हाे । उद्घाटनलाई भव्य बनाउन चीनले सक्दो तयारी गरेको छ । चीन विश्वलाई आफ्नो रवाफ, शक्ति र वैभव देखाउन चाहन्छ । कोभिड महामारीकाबीचमा भौतिक रूपमै विश्वमा आयोजना हुने ठूला जमघट मध्येमा यो ओलम्पिक पनि रहने छ ।

सन् २००८ मा चीनले आयोजना गरेको २९ औँ गृष्मकालीन ओलम्पिकका लागि निर्माण गरिएको विशाल रङ्गशाला जसलाई ‘वर्ड नेस्ट स्टेडियम’ (चराको गुँड) रंगशालाको नाम दिएको थियो । उक्त रंगशाला प्रसिद्ध इन्जिनियर ली सिङकाङले डिजाइन गरेका थिए । चराले सिन्का उनेर बनाएको ढाँचामा फलामका पाता उनेर बनाइएको उक्त रङ्गशालाको आकाशतिरको भाग भने खुला छ । रंगशालालाई वरिपरिबाट भने कचौराजस्तो गोलाकारमा उठाइएको छ । यो हेर्दा चराले गुँड लगाएको जस्तै देखिने भएकाले यसलाई ‘चराको गुँड रंगशाला’ भनिएको हो ।

नेपाल छैन सहभागी
प्रतियोगिता नेपालसँगै जोडिएको छिमेकी देशमा भएपनि नेपाल भने सहभागी छैन । प्रतियोगितामा सहभागी हुन खेलाडी प्रतिस्पर्धामार्फत छनोट हुनुपर्नेमा नेपालबाट कुनै पनि खेलाडी छनोट हुन नसकेका कारण नेपालको सहभागिता हुन नसकेको हो । अझ, कोभिड-१९ को कारण देखाउँदै नेपालले छनोट खेल समेत पूरा नगर्दा कोटा पाउन पनि सकेन ।

छनोटमा अंक बटुलेका केही खेलाडी कोटामा पर्ने सम्भावना भएपनि यसपटक खेलाडीले तय भएका खेल समेत खेल्न नपाउँदा कोटाको आशा पनि समाप्त भएको थियो । नेपाल सहभागी नहुनुमा कुनै राजनितिक कारण नभएको खेलकुद मन्त्रालयले यसअघि नै बताइसकेको छ । प्रतियोगितामा खेलाडी सहभागी नहुने भएपछि सम्बन्धित देशका पदाधिकारी समेत सहभागी हुन पाउदैनन् । खेलाडी सहभागी नहुने भएपछि ओलम्पिक कमिटीले सरकारलाई निमन्त्रणा नै गर्दैन । तर आयोजक सरकारले कुट्नीतीक रूपमा निम्ता दिन भने सक्ने छ । तर त्यस्तो निम्तो नेपालले पाए नपाएको यकिन छैन ।

त्यसो त नेपालमा शितकालिन ओलम्पिकमा हुने खेल नै नगन्य हुन्छन् । यसमा प्रतिस्पर्धात्मक क्षमता बनाउन नेपाल असफल छ । शितकालीन ओलम्पिकमा युरोपेली देशहरू हावी हुने गरेका छन् ।

प्रतियोगितामा ठूलो टीम सहभागी रहेका पाँच देश
अमेरिकाः २२४
क्यानडाः २१५
रूसः २१२
चीनः १७४
स्वीटजरल्यान्डः १६७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *