नक्कली पीसीआर बनाएको अभियोगमा अस्पतालका कर्मचारी पक्राउ, सञ्चालक फरार

काठमाडाैँ । नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अस्पतालका कर्मचारी समेत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भक्तपुरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी धनुषाको बिदेह नगरपालिका-४ का रोशनकुमार छिट्टान र नागरिक हस्पिटलकै ल्याब प्रबन्धक सर्लाही बलरा नगरपालिका-७ का प्रसन्नकुमार झा रहेका छन् ।
यस्तै, काठमाडौँको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका कर्मचारीहरू धनुषाको छिरेश्वर नगरपालिका-१ का नागेन्द्र यादव र काभ्रेपलान्चोक तेमाल गाउँपालिका-५ का माधव मैनाली रहेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट सरकारले तोकेभन्दा बढी रकम लिई स्वावको नमुनासमेत नलिई नक्कली रिपोर्ट बनाइदिने गरेको सूचनाका आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरीले रोशन कुमारलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलबाट जारी भएका ८ थान नक्कली पीसीआर रिपोर्टसहित एयरपोर्ट अगाडिबाट, प्रसन्न कुमारलाई नागरिक हस्पिटलबाट, नागेन्द्रकुमारलाई १७ थान नक्कली पिसीआर रिपोर्टसहित कान्तिपुर अस्पताल अगाडिबाट र माधवलाई सोही अस्पतालबाट पक्राउ गरेको हो ।
राष्ट्रिय जन-स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधि समेतको रोहबारमा प्रहरीले दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण, पीसीआर टेष्ट दर्ता रजिष्टर, नक्कली पीसीआर रिपोर्ट र रसिद प्याडहरू समेत बरामद गरेको छ । साथै दुवै अस्पतालका पीसीआर ल्याबहरू सिल गरी पीसीआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको पनि प्रहरीले जनाएको छ ।
यी अस्पतालले व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको, ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी डिजिटल सिग्नेचर प्रयोग गरी रिपोर्ट दिने गरेको, पीसीआर पोजेटिभ देखिएका स्याम्पलको सिटि भ्यालु तथा मिति तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ । ती अस्पतालहरूले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनि परिचयपत्र बनाई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाव बिनै बिचौलियाहरूले आफैँले आफ्नै स्वाव संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा स्वाव दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको, बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जानेलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म असुल गर्ने गरेको तथा क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको खुलेको छ ।
दुवै अस्पतालका ल्याबका सञ्चालक तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सक फरार रहेको र उनीहरूको खोजी महानगरीय अपराध महाशाखाले जनाएको छ ।








