काेराेना संक्रमण घट्दो तर जोखिम कायमै

काठमाडौँ । नेपालमा पछिल्लो सात दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांक हेर्दा नेपालमा पछिल्लो साता कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको देखिएकाे हाे ।

मंगलवार १७ हजार ६७४ कुल परीक्षणमा ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमण दर ३१.६ प्रतिशत रहेको छ । झण्डै एक साता यता नेपालमा ३० प्रतिशत भन्दा कम संक्रमण दर रहेकाे मन्त्रालयको तथ्यांकले देखाउँछ । मन्त्रालयको तथ्यांक अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित र २०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला १८ वटा रहेका छन् ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोना संक्रमण घट्दै गरेको देखिन्छ । उपत्यकामा हाल ४४ हजार ५३१ सक्रिय संक्रमित रहेका छन् । कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा ह्वात्तै बढे पनि बिस्तारै ओरालो लाग्न थालेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मकालुखबरलाई बताए ।

केही दिनयता काेराेना संक्रमितकाे संख्या घटेकाे देखिएकाे छ । माघ १६ भन्दा १७ गते संक्रमितकाे संख्या केही बढेकाे देखिएपनि १८ गते केही घटेकाे देखिन्छ ।

उनले भने, ‘अब फेरि कोरोना संक्रमितको संख्या यसअघिको जसरी नै बढ्ने सम्भावना देखिँदैन । संक्रमितलाई गाह्रो  बनाएको छैन । घरमै आराम गरेर निको हुनेको संख्या धेरै छ । त्यसैले पनि अब यो ग्राफ उकालो लाग्दैन जस्तो देखिन्छ ।’

यस्तै, दोस्रो लहरभन्दा तुलनात्मक रूपमा तेस्रो लहर छिटो फैलिएर छिटो घटेको देखिएको डा. पुन बताउँछन् । नेपालमा कोरोना संक्रमितको संख्या घटे पनि जोखिम कायम रहने भएकाले स्वास्थ्य मापदण्ड र खोपमा जोड दिनुपर्ने डा. पुनको भनाइ छ ।

उनी भन्छन्, ‘संक्रमण घटे पनि हामीले खोप र जनस्वास्थ्यका मापदण्डमा ध्यान दिनुपर्छ । यसो गर्न सक्यौँ भने फेरि छिट्टै जनजीवन सामान्य बन्नमा मद्दत पुग्छ ।’ अर्को भेरियन्टबारे अहिले नै आकलन गर्न नसकिने डा. पुन बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *