जेएसी टी८ डबल क्याब पिकअपको बुकिङ खुला, मूल्य ५६ लाख ९९ हजार

काठमाडौँ । नेपाली बजारमा जेएसीको टी८ २.० लिटर पिकअप ट्रकको बुकिङ खुला भएको छ । नेपालका लागि आधिकारिक वितरक गोल्छा अर्गनाइजेसनको अटोमोटिभ डिभिजन सांग्रिला मोटर्सले सो पिकअपको बुकिङ खुलाएको हो ।

यो जेएसी मोटर्सको आठौँ पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ । टी८ लाइनअपमा फोर बाई फोर डबल–क्याब रहेको छ जुन टी६ डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ । यसमा बर्गवार्नरको ईएसओएफ इलेक्ट्रोनिक रुपमा–नियन्त्रित टाइम–सेरिङ फोर–ह्विल–ड्राइभ प्रणाली रहेको छ । यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैली अनुरूप रहेका सुरक्षा सुविधाहरूका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता–आधारित ड्राइभको लागि लक्षित रहेको छ ।

यसमा रहेको २.० लिटर टर्बो–डिजेल इन्जिन जर्मन कम्पनी एफईभीसँगको सहकार्यमा विकास गरिएको हो । यसमार्फत १३७ एचपी पावर र ३२० एनएम टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिन्छ ।

मल्टी–फंक्सन स्टेयरिङ ह्विल, समायोजन गर्न मिल्ने स्टेयरिङ कोलम, क्रुज कन्ट्रोल, रिभर्स क्यामेरा, रियर पार्क सेन्सर, रिमोट सेन्ट्रल लकिङसँगै अटो डोर लक र कम्प्युटररमल्टी—इन्फरमेसन डिस्प्ले जस्ता विलासी आन्तरिक सुविधाहरू छन् । यसमा ब्लुटुथ सहितको ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट पनि छ । आकर्षक स्टाइल, उचित सामानहरू र उत्कृष्ट बनावटले टी८ लाई सधैँ पहिलो रोजाइमा पार्ने निश्चित भएको कम्पनीको भनाइ छ ।

इटालियन आरएन्डडी इन्स्टिच्युटमा डिजाइन र विकास गरिएको जेएसीमा निट क्रिज, डिजाइन कर्भ र रोमन शिल्डबाट प्रेरित आकर्षक फ्रन्ट फेसिया अन्य भन्दा फरक देखिन्छ । यसको अगाडि हेक्सागनल एयर इनटेक ग्रिल, डेटाइम रनिङ लाइटस् भएको स्टाइलिस जेनन हेडल्याम्प र अगाडिको बम्परमा फगल्याम्प रहेको छ । साथै, यसमा बोल्ड ब्ल्याक ह्वील आर्कहरु, 265/60 R18 टायर भएको आकर्षक दुई–टोनको १८ इन्च अलोय ह्विल र साइड स्टेप बोर्डहरु रहेका छन् । यसबाहेक, विशेष ‘डबल सी’ एलईडी टेललाइटले डिजाइनमा सुन्दरता थप्छ र रातको समयमा पनि सजिलै गाडी चिनिन्छ ।

सुरक्षाका लागि यसमा ड्युअल एयरब्याग, ट्रयाक्सन कन्ट्रोल सिस्टम, भेइकल डाइनामिक्स कन्ट्रोल (भीडीसी), इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल (ईएससी) र हिल–स्टार्ट होल्ड कन्ट्रोल (एचएचसी), फ्रन्ट र रियर डिस्क ब्रेक, एन्टि–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रिब्युसन, ब्रेक ओभरराइड सिस्टम, हाइड्रोलिक ब्रेक असिस्ट र टायर प्रेसर मनिटरिङ सिस्टम रहेको छ । यी सबैको काम चालक र यात्रीहरुको सुरक्षा नै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *