गल्फमय बन्दै धरान, देशभरिका १४० खेलाडी आउने

धरान । धरान आगामी फागुन १३ र १४ गते गल्फमय हुँदै छ । बाह्रखरी मिडियाले प्रदेश १ को धरानमा पाँचौ कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । आगामी फागुन १३ र १४ प्रदेश १को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्न लागिएको धरानमा आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

धरान गल्फ क्लबका सदस्य तथा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । समृद्धिको लागि खेल , पर्यटन र उद्यममैत्री व्यवहार भएकोले यस्ता कार्य महत्वपूर्ण भएको बताए । देशभरिबाट १४० जना खेलाडी सहित करिब ५ सयको सहभागी रहने गरी तयारी भइरहेको आयोजकले जनाएको छ ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले प्रदेश १ को समृद्धिमा जोड दिएर कार्यक्रम ल्याइएको बताए । खेलको विकाससँगै इटहरीमा ‘योङ आन्टरप्रिनुअर्स’सँग मिलेर कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै यस कार्यक्रम सफलताका लागि पत्रकारलाई सहयोग गर्न आग्रह गरे ।

विजेतालाई गोल्डेन बल पुरस्कार

कर्पोरेट गल्फ प्रतियोगिताका विजेताले गोल्डेन बल पाउने भएको छन् । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले पहिलो पटक नेपालले गल्फमा गोल्डेनबल पुरस्कार दिन लागेको बताए । ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागी गराउन समस्या हुने जानकारी दिए ।

विभिन्न विधामा पुरस्कार दिने जानकारी दिँदै उनले ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको बताए । ‘यसको आकर्षक भनेकै गोल्डेन बल हो, उनले भने, यो संसारमा कहीँ पनि राखेको पाइँदैन ।’

ब्रिटिसहरूले शुरू गरेको गल्फ

धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बूले धरानको गल्फ कोर्स ब्रिटिसहरूले शुरू गरेको बारेममा जानकारी दिए । सन् १९९० तिर यहाँ छाडेर पोखरामा सिफ्ट भएकाले त्यसपछि धरान गल्फ क्लबको रूपमा शुरू भएको बताए । ‘बीचमा निर्माण कन्ट्री क्लबले पनि गल्फ चलाउन थालेको थियो’, उनले भने, ‘बीचमा त्यो पछि छाडेर हिँडेपछि धरानमा गल्फ धरानेले खेल्दै आएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *