आवश्यक परे बोलाउनु होला भन्दै सदनबाट बाहिरिइन् सांसद

सुर्खेत । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको तेस्रो बैठक माघ १६ गते आइतबार दिउँसो दुई बजेबाट शुरू भयाे ।

सबै सांसदहरू प्रदेशसभा हलभित्र प्रवेश गरे । सभामुख राजबहादुर शाहीले दैनिक कार्यासूची अनुसार बैठकलाई अगाडि बढाउनुपूर्व राष्ट्रिय गान र सहिदहरूप्रति माैनधारणको कार्यक्रम भयो । त्यसलगत्तै सबै सहभागी सांसदहरू आ–आफ्नो सिटमा बसे । अलि ढिलो गरी बैठकमा पुगेकी कालिकोट जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद सोशीला शाही भने सिटमा नबसी उठिरहेकी हुन्छिन् ।

प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता यामलाल कँडेललाई सभामुखले आफ्ना भनाइ राख्न अनुमित दिइसकेपछि कँडेल रोष्ट्रममा पुगे । सभामुख शाहीले सांसद सोशीलालाई सिटमा बस्न आग्रह गर्दा पनि उनी बसिनन् ।

कँडेल करिब ४५ मिनेट लगातार बोलिरहे । सरकारकाे आलोचना गर्दै, सरकारले ल्याएका विभिन्न योजनादेखि गरेको कार्यान्वयन र बजेट विनियोजम सम्म । तर, पनि सांसद सोशीला सिटमा बसेकी थिइनन् ।

एमाले नेता कँडेलले आफ्ना भनाइ राखिसकेपछि सभामुख राजबहादुर शाहीले सांसद सोशिलालाई प्रश्न गदै भने ‘के भन्न खोज्नुभयो माननीय सदस्य ? छोटोमा राख्नुहोस् ।’

त्यसपछि सांसद सोशिलाले अलि निराश हुँदै भनिन्, ‘सभामुख महोदय मैले भन्न खोजेको के हो भने, यो गरिमामय हाउसमा धेरै कुरा राख्न चाहान्न । हाम्रो दलले स्थान पाउने कि नपाउने सभामुख महोदय ?’ त्यसपछि अलिकति विगतको कुरा जोड्दै सांसद सोशिलाले भनिन्, ‘सभामुख महोदय हिजो संसद चल्दै गर्दा हामी सबै सांसद एक हौँ, कर्णाली प्रदेशमा, विकास हुनुपर्छ, समृद्धि हुनुपर्छ र हामी एकजुट भएर जानुपर्छ भन्ने मान्यता हामी सबै माननीयज्यूहरूको थियो ।’

सांसद सोशीलाले यसअघिका बैठकमा प्रतिपक्षी दल भनेर बैठक कक्षको अगाडि सिटमा बस्दै आएको र हाल सचिवालयले पछिल्ला सिटमा बस्ने व्यवस्थापन गरेपछि शाहीले आपत्ति जनाइन् ।

सोशीलाले भनिन्, ‘कुनै विषयमा विमति जनाउँदा एमालेको सांसद भयो भनेर प्रचार गरिन्छ, संसद बैठकमा आउँछु, सचिवालयको व्यवहार अर्कै देख्छु । सभामुख महोदय मलाई गेटबाटै प्रवेश नगर भन्नुहोस्, म आउँदिन् ।’

त्यसपछि शाहीले सानो दल भएर आफूलाई अन्य दलले हेप्ने गरेको बताइन् । उनले भावुक हुँदै भनिन्, ‘विश्वासको मत दिँदा पनि सुख छैन् । नदिँदा पनि सुख छैन् ।’ दलको मान्यता दिएपछि त्यहीँ खालको व्यवहार गर्नुपर्यो भन्दै शाहीले आफ्नो आवश्यक भयो भने बोलाउनु होला, नभए गेट बाहिरै जनताका मुद्दा राखुला भन्दै आफ्ना धारणा पोखेर बैठक बैठक हलबाट बाहिरिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् भने आधा घण्टा बित्तिसक्दा पनि बैठक बसेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *