निर्वाचनपछि राष्ट्रियसभा अध्यक्षकाे पद धरापमा, गठबन्धन उत्साहित

काठमाडौँ । बुधबार भएको राष्ट्रियसभाको निर्वाचनले सत्ता गठबन्धनमा उत्साह थपेको छ । राष्ट्रियसभामा रिक्त भएका २० सिटमध्ये १९ सिटमा भएको निर्वाचनमा १८ सिटमा जित हासिल गरेपछि गठबन्धमा उत्साह थपिएकाे हाे । प्रमुख प्रतिपक्ष दल एमालेले एक सिटमा जित हात पर्यो भने एक सिटमा बराबरी हुँदा गोलाप्रथाबाट पराजय भयो ।

सातै प्रदेशमा भएको निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । गठबन्धनमा मतभार बढी भएपनि प्रदेश एकमा भएको अन्तर्घातले एमालेले एक सिट ल्याउन सफल भयो । यस्तै, सुदूरपश्चिममा पनि अन्तर्घात भएको बताइन्छ । अन्तर्घात भएका ठाउँमा छानबिन गरिने गठबन्धनले जनाएको छ । राष्ट्रियसभा निर्वाचनको मतपरिणामले गठबन्धन उत्साहित भएको छ भने एमाले झस्किएको छ ।

पहिलो पार्टी एमाले

राष्ट्रियसभामा सबैभन्दा ठूलो दल रहेको एमालेको सिट संख्या घटेको छ । बुधबार भएको राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनमा एमाले आफ्ना सात सिटमा पराजयी भयो । १९ सिटका लागि भएको निर्वाचनमा एमालेले एक सिटमा मात्र विजयी भयो ।

एमालेको राष्ट्रियसभामा अध्यक्षसहित २४ सांसद रहेका थिए । तर, बुधबार भएको निर्वाचनसँगै एमाले १७ जना सांसदमा सीमित हुने भएको छ । संघीय संसदको माथिल्लो सदनमा एमाले सबैभन्दा ठूलो दल भएपनि सिट संख्या भने घटेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा फागुन २० बाट एमाले १७ जनासहित अध्यक्षसहित राष्ट्रियसभाको सबैभन्दा ठूलो दलको रूपमा रहने छ ।

यस्तै, १५ जना सांसदसहित नेकपा माओवादी केन्द्र दोस्रो ठूलो दल भएकाे छ छ भने १० सिटसहित कांग्रेस तेस्रो ठूलो दल बन्न सफल भएकाे छ । यस्तै, एकीकृत समाजवादी ८ सांसदसहित चौथो स्थानमा पुगेकाे छ । सभामा अब जनता समाजवादी जसपाको ३ सिट, राष्ट्रिय जनमोर्चाको एक सिट रहने छ । जनमोर्चा पहिलो पटक राष्ट्रियसभामा प्रवेश भएको हाे ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक, स्वतन्त्र एक (डा. खिमलाल देवकोटा) राष्ट्रियसभामा हुनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने तीन सिटमध्ये दुई सिटमा वामदेव गौतम र विमला राई पौडेल रहेका छन् । अर्का सांसद रामनारायण बिडारीको फागुन २० मा पदावधि सकिँदै छ ।

राष्ट्रियसभामा कुन दलका कति सांसद ? 

एमालेको अध्यक्षसहित १७ जना
कांग्रेसको-१० जना
माओवादी केन्द्र-१५ जना
एकीकृत समाजवादी-८ जना
जसपा-३
लोसपा-१
स्वतन्त्र-१
राष्टिय जनमोर्चा-१
मनोनित-२
मनोनित-१ (रिक्त हुने)

अध्यक्षको पद धरापमा

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पद जोखिममा परेको छ । बुधवार भएको १९ सदस्यको नयाँ निर्वाचन मतपरिणामपछि अध्यक्ष तिमिल्सिनाको पद जोखिममा परेको हो । राष्ट्रियसभामा सत्तारूढ गठबन्धन दुईतिहाइ नजिक पुगेसँगै नेकपा एमालेबाट निर्वाचित तिमिल्सिनाको पद जोखिममा परेको छ ।

उनको पद जाने वा जोगिने भन्ने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरिएको वामदेव गौतममा भर पर्ने छ । तर, गौतमले एमाले छाडेर तटस्थ बसेकाले उनको पद जानसक्ने बताइएको छ । गौतम माधव नेपालको एकीकृत समाजवादी नजिक रहेका छन् । गौतम गठबन्धनमा लागे तिमिल्सिनाको अध्यक्ष पद जाने छ । राष्ट्रियसभाको अध्यक्ष संवैधानिक परिषद्को सदस्य रहने भएकाले पनि उनलाई गठबन्धनले हटाउनसक्ने बताइएको छ ।

राष्ट्रियसभा नियमावली नियम १८१ मा अध्यक्ष वा उपाध्यक्ष पदमुक्त हुने सम्बन्धी व्यवस्था छ । अध्यक्ष वा उपाध्यक्षले पद अनुकुल आचरण नगरेको भन्ने लागेमा राष्ट्रियसभाका कुनै सदस्यले तत्काल कायम रहेको सांसद संख्याको एक चौथाइ सदस्यको समर्थन लिएर अविश्वास प्रस्ताव लैजान सक्ने व्यवस्था छ ।

त्यस्तो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भए अध्यक्ष वा उपाध्यक्ष पदमुक्त हुने व्यवस्था उक्त नियमावलीको नियम १८१ मा उल्लेख छ ।

नियमावलीको १८१ (४) मा नियम १८१ बमोजिमको प्रस्ताव (अध्यक्ष वा उपाध्यक्षले पद अनुकुल आचरण नगरेको प्रस्ताव) सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित अध्यक्ष वा उपाध्यक्ष पदमुक्त हुने उल्लेख छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेयता एमालेका प्रदेश सरकार पनि ढलेका छन् । संघमा रहेको महत्वपूर्ण पद पनि एमालेले गुमाउने जोखिम बढेको छ ।

राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले आफू सभामुख परिवर्तन गर्ने पक्षमा नरहेको बताए । राष्ट्रियसभा अध्यक्ष परिवर्तन गर्नमा ठूलो भूमिका खेल्नसक्ने देवकोटाले आफू परिवर्तन गर्न नहुने पक्षमा रहेको बताए । उनले परिवर्तन गर्ने वा नगर्नेमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भन्दै आफू भने त्यसमा नलाग्ने बताए ।

उत्साहित गठबन्धन

राष्ट्रियसभाको मतपरिणामबाट सत्तारूढ गठबन्धन उत्साहित बनेको छ । गठबन्धनले जुन उद्देश्यले गठबन्धन गरेको हो त्यो पूरा भएको बताएको छ । गठबन्धन दल नेपाली कांग्रेसका नेता रमेश लेखकले गठबन्धन मिले चुनाव जितिने अपेक्षा गरिएको र चुनाव पनि जितिएको बताए ।

उनले भने, ‘गठबन्धन मिले चुनाव जितिन्छ भन्ने थियो, जितियो । गठबन्धन मिलेर चुनाव लड्ने उद्देश्य थियो, त्यो सफल भयो । त्यसैले यसलाई सकरात्मक रूपमा लिनु पर्छ ।’
यस्तै नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । उनले प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिले गठबन्धन आवश्यक रहेको पुष्टि गरेको बताए ।

उनले भने, ‘गठबन्धन निरन्तर चाहिने रहेछ । गठबन्धनले उठाएका राष्ट्रिय स्वाधिनताकाे रक्षा, गणतन्त्रको रक्षा, संविधानको रक्षा, जुन उठाएको थियो । त्यो ठिक हो, आवश्यक हो, त्यो सही हो । यसलाई निरन्तरता दिनु पर्छ भन्ने सन्देश हो ।’

कुन दलका को सांसद ? (नामावलीसहित)

एमाले

गणेशप्रसाद तिमल्सिना
इन्दिरादेवी गौतम
इन्दु कडरिया
खिमलाल भटटराई
गोपाल भटटराई
तुलसा कुमारी दाहाल
दिपा गुरुङ
दिलकुमारी रावल थापा (पार्वती)
नरपती लुहार
भगवती न्यौपाने
भैरव सुन्दर श्रेष्ठ
रामचन्द्र राई
विमला घिमिरे
शारदादेवी भट्ट
सुमित्रा विसी
देवेन्द्र दाहाल
सोनम ग्याल्जेन शेर्पा (नव निर्वाचित)

नेपाली कांग्रेस

अनिता देवकोटा
जितेन्द्रनारायण देव
प्रकाश पन्थ
रमेशजंग रायमाझी
गोपाल बस्नेत (नव निर्वाचित)
युवराज शर्मा (नव निर्वाचित)
नारायणदत्त मिश्र (नव निर्वाचित)
कमला पन्त (नव निर्वाचित)
दुर्गा गुरूङ (नव निर्वाचित)
कृष्णप्रसाद पौडेल (नव निर्वाचित)

नेकपा (माओवादी केन्द्र)
गोपीबहादुर सार्की अछामी
गंगाकुमारी बेल्वासे
जगप्रसाद शर्मा
तारामान स्वाँर
नारायणकाजी श्रेष्ठ
महेशकुमार महरा
मायाप्रसाद शर्मा
राधेश्याम पासवान
विना पोखरेल
हरिराम चौधरी
सुरेशबहादुर आले मगर (नव निर्वाचित)
जगत पार्की (नव निर्वाचित)
भुवन सुनार (नव निर्वाचित)
नरबहादुर विष्ट (नव निर्वाचित)
उर्मिला अर्याल (नव निर्वाचित)

नेकपा (एकीकृत समाजवादी)

नन्दा चपाई
बेदुराम भुषाल
सिंगबहादुर विश्वकर्मा
जयन्ती राई
गरिमा शाह (नव निर्वाचित)
राजेन्द्रलक्ष्मी गैरे (नव निर्वाचित)
उदय बोहरा (नव निर्वाचित)
गोमादेवी तिमल्सिना (नव निर्वाचित)

जनता समाजवादी पार्टी (जसपा)

प्रमिला कुमारी
मृगेन्द्रकुमार सिंह यादव
महमद खालिद (नव निर्वाचित)
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
शेखरकुमार सिंह
स्वतन्त्र
डा. खिमलाल देवकोटा
राष्ट्रिय जनमोर्चा
तुलप्रसाद विश्वकर्मा (नव निर्वाचित)

मनोनित
वामदेव गौतम
विमला राई पौडेल

रामनारायण विडारी (फागुन २० गते स्थान रिक्त, पछि मनोनित हुने)

अपेक्षाभन्दा बढी मतभार आयो : एमाले

राष्ट्रियसभाका सदस्यको पदावधी सकिनुभन्दा ३५ दिन अगाडि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बुधवार १९ सांसदको लागि निर्वाचन भएको हो । फागुन २० गते एकजना मनोनितसहित २० जनाको पदावधि सकिँदै छ । एमालेबाट प्रदेश १ मा सोनम ग्याल्जेन शेर्पा निर्वाचित भएका थिए । त्यस्तै एमालेका गुरु बरालले नेपाली कांग्रेसका उम्मेदवारसँग मत बराबरी गरेपनि गोलाप्रथामा उनी पराजित भए ।

नेकपा एमालेले आफूले अपेक्षा गरेको भन्दा राम्रो मतभार पाएको बताएको छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पाँच दलको पूर्व अनुमान गरेको भन्दा पनि बढी मतभार आएको बताइन् । उनले पाँच दलको गठबन्धन भएकाले एमाले कमजोर भएको बताइन् । उनले भनिन्, ‘पाँच दलको गठबन्धन भएकाले हामी कमजाेर भएका हौँ । यस्तो मतपरिणम आउँछ भनेर हामीले पूर्व अनुमान गरेका थियौँ । हामीले यसलाई सम्मानजनक लिएका छौँ । हामीले सोचेको भन्दा केही मत बढी आएको छ । एमालेको जे स्थिति थियो त्यो भन्दा राम्रो सम्मान भएको छ । मतभार बढेको छ । हाम्रो सम्पूर्ण मत सुरक्षित थियो । हामीले विश्वास गरेको भन्दा बढी सहयोग भयो ।’ उनले स्थानीय तहमा एमालेको राम्रो देखिए पनि प्रदेशमा कमजाेर देखिएको बताइन् ।

प्रतिक्रिया

One thought on “निर्वाचनपछि राष्ट्रियसभा अध्यक्षकाे पद धरापमा, गठबन्धन उत्साहित

  1. प्रदेश १ मा एमालेका गुरु वराल हुनु पर्नेमा रघु भएको रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *