मोरङ सामूहिक बलात्कारः प्रहरी सुक्ष्म अनुसन्धानमा, २ जना पक्राउ

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा गत शुक्रवार राति एकजना महिलाकाे सामूहिक बलात्कार भएकाे छ ।

निजी गाडीको प्रयोग गरी अपहरणकाे शैलीमा पीडित महिलाई होटलमा लगी बलात्कार भएकाे प्रहरीले जनाएकाे छ । इटहरीमा कामबाट फर्किएर सुन्दर हरैँचा आफन्तकोमा जाँदै गरेकी ३० वर्षीय महिलाकाे सुन्दर हरैँचा नगरपालिका-४ बलियामा सामूहिक बलात्कार भएकाे हाे ।

शुक्रवार राति भएको घटना प्रहरीले शनिवार मात्रै थाहा पाएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको जनाएको छ । अन्य एक जना फरार रहेका छन् । घटना होटल सञ्चालकको मिलेमतोमा भएकाे प्रहरीले बताएकाे छ ।

इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलालाई गछियाबाट बलिया लगेर सामूहिक बलात्कार भएको हो । प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा रामबहादुर नेपाली भन्ने व्यक्तिले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै गाडीमा बसाएको प्रहरीको भनाइ छ । पीडितले बहिनीकोमा लग्ने भनेर गाडीमा चढाएकोमा घुमाउँदै जंगल लगेको र त्यहाँबाट सुन्दरहरैचा–४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगेर बलात्कार गरेको बताइन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । त्यस्तै, एकजना फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङका अनुसार पक्राउ पर्नेमा होटल सञ्जालक अर्जुन श्रेष्ठ र अर्का एकजना मनोज श्रेष्ठ रहेका छन् ।  पीडितलाई हाेटेलसम्म पुर्‍याउने अर्काे एकजना रामबहादुर नेपाली भने फरार रहेका छन् ।

डिएसपी मुकारुङका अनुसार घटनापछि पीडित परिवारका आफन्तले आइतबार दिउँसो उजुरी दिएकोले अनुसन्धान गर्न सहज हुने छ । ‘घटनाको प्रकृति गम्भीर खालको भएकोले सुक्ष्म अनुसन्धान भइरहेको छ’, उनले भने, ‘सबैकुरा बिस्तारै खुल्दै जाला, पीडित महिला उपचारमा रहेकोले थप अनुसन्धान हुन बाँकी छ ।’

प्रेम भएको हुनसक्ने आशंका

प्रहरी अनुसन्धानले महिलासँग पीडक कुनै पुरुषको प्रेम सम्बन्ध रहेको हुनसक्ने देखाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पीडक कुनै व्यक्तिसँग ती महिलाको सम्बन्ध रहेकाे हुनसक्ने देखिएको छ । ‘महिला विश्वासिलाे व्यक्तिसँगै होटलसम्म पुगेको हुनसक्छ’, अधिकृतले भने, ‘गाडीबाट लगिएको र होटल भएको दूरी झण्डै ७ किलोमिटर हो । त्यस बारेमा पनि सुक्ष्म अनुसन्धान जारी छ ।’

डिस्चार्जको तयारी

गम्भीर अवस्थामा कोशी अस्पताल पुर्‍याइएकी पीडितकाे स्वास्थ्यअवस्था साेमवारसम्म सामान्य भइसकेको छ । अस्पतालकी प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले पीडितलाई शनिवार रगत बगेको गम्भीर अवस्थामा अस्पताल ल्याइएको भएपनि अहिले अवस्था सामान्य भइसकेको बताइन् । ‘शनिवार ल्याउँदा बिरामीको अवस्था ब्लिडिङ भएको गम्भीर प्रकृतिको जस्तो देखिन्थ्यो’, डा. रिभाले भनिन्, ‘यौनाङ्गको भित्री भागमा केही घाउ देखिएको थियो, त्यो निको हुने अवस्थामा छ ।’ बिरामीको अवस्था सुधार भएकाेले आजै डिस्चार्ज गर्ने डा. रिभाले बताइन् । ‘बिरामीले शरीरको बाहिरी भाग दुखेको भन्नु भएको छ’, उनले भनिन्, ‘बाहिरी भागको दुखाई बिस्तारै निकाे हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *