मास्क खोज्दै निस्किए मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न नागरिकलाई अनिवार्य रूपमा खोप र मास्क लगाउन आग्रह गरेका छन् ।

सार्वजनिक स्थलहरूमा मास्कको प्रयोग नगर्दा संक्रमण बढेको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा ‘तपाईँको मास्क खोई ?’ अभियान समेत शुरू गरिएको छ । शनिबार उक्त अभियानको शुभारम्भ गर्दै  मुख्यमन्त्री शाहीले नागरिकलाई यस्तो आग्रह गरेका हुन् ।

मुख्यमन्त्री शाहीको टोलीले सडकमै गएर मास्क नलगाएका व्यक्तिलाई लगाउन आग्रह गर्दै मास्क वितरण समेत गरेको छ । कोरोना तेस्रो लहर शुरू भएसँगै सुर्खेतमा संक्रमणको दर उच्च छ । हाल जिल्लामा पाँच सय भन्दा बढी सक्रिय कोरोना संक्रमित छन् । पछिल्लो तीन, चार दिनमा कोरोना संक्रमण दर उच्च देखिएको छ ।

यस्तै, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अनुगमनका क्रममा धेरैले मास्क नलगाएको पाइए पछि ‘तपाईँको मास्क खोई ?’ अभियान शुरू गरिएको बताए ।

उनले पहिलो दिनको अनुगमनमा धेरै जना मास्क नलगाएहरू भेटिएको बताए । उनले भने ‘आज पहिलो दिन भएकोले सम्झाई–बुझाई गरेर पठाएका छौँ, पुनः पनि मास्क लगाउन अटेर गरेको पाइएमा कानूनबमोजिम जरिवाना तिराउन प्रशासन बाध्य हुने छ  ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *