कर्णालीमा महिलाका लागि प्रभावकारी बन्दै हवाई उद्धार कार्यक्रम

चालु आर्थिक बर्षमा २१ महिलाको उद्दार

सुर्खेत ।  गत साउन ६ गते डोल्पाको ठूलोभेरी नगरपालिका–४ की अमृता बुढालाई सुत्केरी बेथा लाग्यो । रगत धेरै बह्यो । तर बेथा लागेको धेरै समय हुँदा पनि बच्चा जन्मिएन । गाउँमा स्वास्थ्य चौकी र जिल्ला अस्पताल प्रसूति सेवा थिएन । अमृताको ज्यान जोखिममा परेपछि आफन्तले नेता र जनप्रतिनिधिलाई गुहारे । वडा कार्यालयको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले उद्दारको लागि हेलिकोप्टर झिकायो । नेपाली सेनाको हेलिकोप्टरले झण्डै १८ घण्टापछि उनलाई प्रदेश अस्पताल सुर्खेत पुर्‍यायो । समयमै उद्दार भएकाले र आमा र बच्चा दुबैको ज्यान जोगिएको अस्पतालले जनाएको छ ।

साउन ८ गते अदानचुली गाउँपालिका–५ हुम्लाकी सुनकेशरा रावल ऐडीलाई सुत्केरी बेथा लाग्यो । २५ वर्षीया उनको पनि अवस्था सहज भएन । अत्याधिक रक्तश्राप भयो तर बच्चा जन्मिन सकेन । आफन्तले स्वास्थ्य कार्यकर्ता र स्वास्थ्यकर्मीलाई गुहारे । स्वास्थ्यकर्मीले अवस्था जटिल भएको भन्दै तत्काल सुविधा सम्पन्न अस्पताल पुर्‍याउन सल्लाह दिए ।

उद्धारका  जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय  हुँदै गृह मन्त्रालयमा जानकारी गराइएपछि नेपाली सेनाको हेलिकोप्टर उद्दारका लागि गाउँमा पुग्यो । प्रदेश अस्पताल सुर्खेतमा सुनकेशरा सुत्केरी भइन् ।

अमृता र सुनकेशरा मात्रै होइन् । सुत्केरी तथा गर्भवती उद्दार कार्यक्रमले दुर्गमका सयौं आमाहरुको ज्यान जोगिएको छ । कर्णालीका दुर्गम जिल्लाहरुमा शल्यक्रियासहितको प्रसूति सेवा नभएका कारण दुर्गमका सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरेर ज्यान जोगाउनु पर्ने बाध्यता छ ।

भौगोलिक विकटताका कारण नजिकमा वर्थिङ सेन्टर र स्वास्थ्य चौकीहरु र जिल्ला अस्पतालमा पनि शल्यक्रियासहितको प्रसूति सेवा प्राप्त मात्रामा छैनन् । हिमाली तथा पहाडी जिल्लाहरुमा २७ प्रतिशत स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था धान्नु परिरहेको छ । ती चिकित्सक पनि सदरमुकाममै केन्द्रीत छन् । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दाे प्रसूति सेवा छैन । यही कारणा जिल्लामा गम्भिर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन ।

उपचार सम्भव हुने जिल्लामा पनि गाउँबाट अस्पताल पुर्‍याउन घण्टौँ लाग्छ । समयमै उद्दार नगरे आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्दछ । जसले गर्दा प्रशव पीडामा परेका र रत्तश्राप भएर गम्भीर भएका सुत्केरी तथा गर्भवतीलाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याउनुपर्ने बाध्यता छ ।

चालु आर्थिक वर्षमा २१ महिलाको उद्धार

यस्तै, कर्णाली प्रदेशमा चालु आर्थिक वर्षमा २१ ज्ना गर्भवती तथा सुत्केरीको उद्दार गरिएको छ । साउनदेखि मंसिरसम्म २१ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले जानकारी दिइन् । २१ जनामध्ये एक जना सुत्केरी र २० जना गर्भवतीको उद्धार गरिएको हो ।

जसमध्ये डोल्पाबाट मात्रै ६ जना उद्दार गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै कालीकोटबाट पाँच जना, दैलेखबाट तीन जनाको उद्धार गरिएको छ । त्यसैगरी मुगुबाट दुई जना, जाजरकोटबाट दुई जना, रुकुपश्चिम, सल्यान र हुम्लाबाट एक/एकको उद्दार गरिएको छ । उद्दार गरिएकाहरु १७ बर्षदेखि ३६ बर्ष उमेर समूहका छन् । उद्दार गरिएका गर्भवतीको उमेर समूहले कलिलैमा विहे गरेको पुष्टि गरेको छ ।

समयमै उद्दार नपाउँदा आमा र शिशुले अकालमा ज्यान गुमाउनु परेको छ । पछिल्लो एक वर्षमा मात्र कर्णाली प्रदेशभर झण्डै तीनसय नवजात शिशुको मृत्यु भएको छ । सुत्केरी अवस्थामा आहार–विहारको कमी र समयमै उपचारको अभावका कारण ती नवजात शिशुको मृत्यु भएको हो । प्रदेशभर पछिल्लो एक आर्थिक वर्षमा २० जना सुत्केरीको मृत्यु भएको छ । जटिल अवस्था हुँदासमेत सयममै उपचार हुन नसक्दा उनीहरूको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *