क्रिकेटको आशा, निराशा

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले लामो समय पछि टी-ट्वेन्टी फर्म्याटको घरेलु प्रतियोगिता आयोजना गर्‍यो । भलै यसबारे प्रशस्तै प्रश्न नउठेका होइनन् । किनकि प्रधान मन्त्री कपको फर्म्याट एकदिवसीय हो ।

राष्ट्रिय क्रिकेटको संरचना बलियो बनाउन एकदिवसीय र त्रिदिवसीय प्रतियोगिता गरिनुपर्छ भन्ने आवाज बलियो गरी उठिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले ५० ओभरको राष्ट्रिय एकमात्र प्रतियोगितालाई पनि ट्वेन्टी–ट्वेन्टी फर्म्याटमा गर्ने निर्णय गर्‍यो । क्रिकेटलाई जरैबाट बलियो बनाउन र नयाँ प्रतिभा पहिचान गर्न एकदिवसीय र त्रिदिवसीय प्रतियोगिता त्यो पनि कम्तीमा प्रदेश तहमा गर्नुपर्ने माग हुने गरेको धेरै भइसक्यो । तर वर्षमा एउटा प्रतियोगिता सञ्चालन गर्न पनि क्यानलाई धौ धौ पर्ने गरेको छ ।

यसपटक पनि समय कमलगायत बहानामा एकाएक एकदिवसीय प्रतियोगिताको फर्म्याट परिवर्तन गर्दै टी-ट्वेन्टी बनाइयो । त्यो पनि दैनिक ४ खेलका दरले । विश्वकप छनोटको तयारी कम मात्र भएको बाध्यात्मक परिस्थितिमा क्यानको निर्णयलाई सबैले स्विकारे र साथ दिए । घरेलु प्रतियोगिताले थोरै भएपनि खेलाडीलाई छनोट प्रतियोगिताका लागि अवसर मिल्छ भनेर स्विकार्नुको विकल्प कसैसँग पनि थिएन। भलै, फेरि पनि घरेलु क्रिकेटको बलियो संरचना निर्माणको आधारका लागि क्यानलाई झकझक्याउनु खेल प्रेमीको दायित्व भने स्वाभाविक रूपमा हुनेछ नै ।

प्रधान मन्त्री कप टी-ट्वेन्टी क्रिकेटमा केही युवा खेलाडीको प्रदर्शनले नयाँ सम्भावनालाई जीवित पार्ने प्रयास गरेको छ । केही सिनियर खेलाडीको खस्कँदो प्रदर्शनले चिन्ता बढाएको छ । पुस्तान्तरणको दबाब खेपिरहेका टिमका अघिल्लो पुस्ताका खेलाडीहरूको प्रदर्शनले अब उनीहरूको सुखद बिदाइको तयारीतर्फ पनि सोच्नुपर्ने सङ्केत गरेको छ ।

प्रधान मन्त्री कपमा गरेको प्रदर्शनका आधारमा प्रशिक्षक पुबुदु दासानायकेले १६ खेलाडीलाई राष्ट्रिय टीममा छनोट गरेका छन् । जसमा सोमपाल कामी र विनोद भण्डारी टिम बाहिर रहँदा यू-१९ का विवेक यादव र लोकेश बम पहिलोपल्ट राष्ट्रिय टिममा परेका छन् भने जितेन्द्र मुखिया र प्रदीप ऐरी लामो समय पछि टिममा अटाएका छन् । विश्वकप छनोट अन्तर्गत समूह ‘ए को ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा हुँदैछ । छनोट भएका अधिकांश खेलाडी टी-ट्वेन्टी फर्म्याटमा अभ्यस्त नै रहेकाले आगामी महिना हुने विश्वकप उनीहरूबाट राम्रो प्रदर्शनको अपेक्षा छ नै ।

प्रदर्शनका हिसाबले यो प्रतियोगितामा आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, अनिल खरेल, देव खनाल, विवेक यादव, लोकेश बम प्रतिश जिसीलगायतको प्रदर्शन अब्बल रह्यो । उनीहरूमध्ये सबैजसो पछिल्लो पुस्ताका खेलाडी हुन् । अघिल्लो पुस्ताका ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, करण केसी, सोमपाल कामीलगायतको प्रदर्शन औसत मात्र रह्यो ।

प्रतियोगिता र खेलाडीको प्रदर्शन
उत्कृष्ट खेलाडी: आसिफ शेख (एपिएफ)
उत्कृष्ट बलर: अनिल खरेल (गण्डकी प्रदेश)
उत्कृष्ट ब्याट्सम्यान: कुशल भुर्तेल (पुलिस क्लब)

सर्वाधिक रन बनाउने पाँच खेलाडी
आसिफ शेख (पुलिस क्लब ): ६ इनिङ, २२७ रन
प्रदीप ऐरी (एपिएफ क्लब): ६ इनिङ, २१३ रन
कुशल भुर्तेल (पुलिस क्लब) ४ इनिङ, १८२ रन
देव खनाल (लुम्बिनी प्रदेश): ४ इनिङ १५८ रन
दीपेन्द्रसिंह ऐरी (पुलिस क्लब): ६ इनिङ १५८ रन

सर्वाधिक विकेट लिने पाँच खेलाडी
दीपेन्द्रसिंह ऐरी (पुलिस क्लब): ६ इनिङ, १४ विकेट
अविनाश बोहरा (एपीएफ क्लब): ६ इनिङ, १२ विकेट
अनिल खरेल (लुम्बिनी प्रदेश): ४ इनिङ १० विकेट
किशोर महतो (एपीएफ क्लब): ६ इनिङ, १० विकेट
आदित्य महतारा (सुदूरपश्चिम प्रदेश): ६ इनिङ, १० विकेट

पाँच विकेटसम्मको उत्कृष्ट पाँच साझेदारी
पहिलो विकेट: प्रदिप ऐरी र आरिफ शेख (एपीएफ) विरुद्ध आर्मी १५० रन
दोस्रो विकेट: कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी (पुलिस) विरुद्ध कर्णाली १०८ रन
तेस्रो विकेट: पवन सर्राफ र अनिल साह (पुलिस) विरुद्ध बागमती ७८ रन
चौथो विकेट: विधान श्रेष्ठ र विपिन खत्री (गण्डकी) विरुद्ध एपीएफ, ५८
पाँचौँ विकेट: दीपेन्द्रसिंह ऐरी र दिलीप नाथ (पुलिस) विरुद्ध एपीएफ, ५६ रन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *