संघर्षले खारिएका ‘हेड सर’

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-७ धाचुगाउँमा रहेको अन्नपूर्ण माविका प्रधानाध्यापक हुन् नरेन्द्र शाही । शाहीको बाल्यकाल उनी जन्मेको जुम्लाकै महावै पाथरखोला गाविसको धाचुगाउँमा बित्यो । उनले धाचुगाउँकै अन्नपूर्ण प्रावि मस्टामाडुबाट कखरा चिन्न शुरू गरे । दिउँसो घर नजिकैको विद्यालयमा जाने उनी साँझ बिहान घरमा आमा-बुबालाई घरायसी काममा सघाउँथे ।

त्यसबेला त्यो विकट गाउँमा पढाउनुपर्छ भन्ने चेतना सबै अभिभावकमा आइनसकेको हुँदो हो । त्यसै बेला उनलाई भने बुबा-आमाले पढाएकोमा नरेन्द्र खुसी छन्, अनुग्रहित छन् । नरेन्द्र आफ्नो बाल्यकाल गाउँका साथीहरूसँग विद्यालय जाने, बिदाको दिन गाई बाख्रा चराउन आमासँग जाने, खेल्ने गर्दै रमाइलो गरेर बितेको बताउँछन् ।

नरेन्द्र आफ्नो पढाइप्रतिको इच्छालाई कहिल्यै मर्न नदिएको सुनाउँछन् । त्यसो त विद्यालयमा उत्कृष्ट विद्यार्थीको नाम आउँदा आफ्नै नाम आउने ती दिन सम्झेर उनी हर्षविभाेर हुन्छन् ।

त्यो देखेर उनका आमा-बुबाले खुसी हुँदै ऋण काढेरै भएपनि पढाउँथे । ‘उहाँहरूले ऋण काढेर पनि पढाउनुभयो । बस्तुभाउ बेचेर पनि पढाउनुभयो,’ नरेन्द्र स्मरण गर्छन् । नरेन्द्रले यसरी ५ सम्मको अध्ययन पूरा गरे । अहिले उनी त्यहीँ विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन् ।

कठिन यात्रासँगै एसएलसी पास
नरेन्द्रले घर नजिकैको विद्यालयमा अक्षर चिने पनि निमावि तहको पढाइका लागि भने सहज थिएन । घर परिवारको सल्लाह अनुसार उनले त्यसपछिको शिक्षा हिमा गाउँपालिका-६ पाथरखोलामा रहेको भानु निमाविबाट प्राप्त गरे ।

घरबाट भानु निमावि पुग्न करिब दुई घण्टाको बाटो पैदल हिँड्नुपर्थ्यो । ‘बल्ल/तल्ल सडकले छोएको ठाउँमा त्यससमयमा सडक सञ्जाल र सवारीसाधन केही पनि हुँदैन थिए। हिँडेरै पढ्न जानुपर्ने र साँझ घर पुग्नुपर्ने हुन्थ्यो । त्यसैमा पनि जंगलको बाटो जंगली जनावरको डरसमेत लाग्थ्यो,’ नरेन्द्र पुराना दिनहरू सम्झिन्छन् ।

उनले कठिन यात्रासँगै कक्षा ६ र ७ उत्तीर्ण गरे । नरेन्द्रलाई त्यति पढाइले मात्रै पुगेको थिएन । माथिल्लो कक्षामा पुग्नु थियो । उनले आफ्नो शिक्षा यात्रालाई अगाडि बढाउने निर्णय गरे । नरेन्द्रले कक्षा ९ र १० को अध्ययन कालिकोटमा रहेको महादेव मावि फोइबाट पूरा गरे । माध्यमिक शिक्षा निम्न माध्यमिक तहकोभन्दा झन् कठिन भयो ।

नरेन्द्र जुम्लाबाट पढ्न करिब तीन घण्टाको पैदल यात्रा गरेर कालिकोट जिल्लामा जानुपरेको बताउँछन् । महादेव माध्यमिक विद्यालय कालिकोट जिल्लाको तिलागुँफा नगरपालिका-१ मा थियो । नरेन्द्रले भने- ‘कयौँ दिन त भोकभोकै विद्यालय जानुपर्थ्यो । करिब सात महिना जति घरबाटै तीन घण्टा जंगलै-जंगलले घेरिएको लेकबाट यात्रा गरिएकोमा पछि भने साथीहरू मिलेर उतै कोठा बस्यौँ ।’ यसपछि भने उनको पढाइ केही सहज भयो ।

त्यसपछि नरेन्द्रले महादेव विद्यालयबाट २०४९ सालमा द्वितीय श्रेणीमा एसएलसी पास गरे । जुन चानचुने उपलब्धि थिएन ।

त्यसपछि नरेन्द्र उच्च शिक्षाको लागि सुर्खेतको वीरेन्द्रनगर झरे । उनी २०५० सालमा साबिकको सुर्खेत क्याम्पस शिक्षा र हालको सुर्खेत बहुमुखी क्याम्पसमा आईएडमा भर्ना भए । उनी कडा मेहनतका साथ पढ्न थाले । घरको आर्थिक अवस्था कमजोर हुनु एकातिर र अर्कोतिर घरको जेठो सन्तान भएकाले परिवारको जिम्मेवारी पनि बढी थियो ।

उनी पढाइमा कम्मर कसेर लागे । सँगै राजनीतिमा पनि आबद्ध भए । २०५२ सालमा उनी क्याम्पसको नेपाल विद्यार्थी संघ एकाइ कमिटीको सभापति बने । आइएडको पढाइ सकेपछि उनी २०५३ सालदेखि शिक्षण पेसामा आबद्ध हुन पुगे ।

शिक्षण पेसामा निरन्तर
०५२ सालबाट माओवादीले सशस्त्र युद्ध शुरू गरेको थियो । उनी निरन्तर आफ्नो पेसामा त लागिरहे । २०५६ सालमा भने उनी अखिल नेपाल शिक्षक संगठनमा आबद्ध भए ।

उनी भन्छन्- ‘त्यसबेला सशस्त्र युद्धका कारण शिक्षकलाई सास्ती भयो । दुवैतिरकाे बन्दुकको चेपुवामा शिक्षकहरू परे । कर्मचारीहरू अरू सबै निकाय विस्थापित भइसकेका थिए । तर, त्यसबीचमा पनि बलियो संर्घष गरेर बाधा-अड्चनलाई छिचोल्दै जागिर र जीवन जगाउन हम्मेहम्मे भयो ।’

नरेन्द्रले यस्तो परिस्थितिमा पनि आफ्नो शिक्षक पेसा छोडेनन् । ‘एकातिर माओवादी युद्ध घर-घरमा पुगेको थियो भने सरकार पक्षबाट माओवादीलाई सहयोग गर्ने भनेर हामीलाई चुनौती दिइन्थ्यो । तर पनि म कसैको कुरा नसुनीकन आफ्नै पेसामा निरन्तर अगाडि बढिरहेँ’, नरेन्द्रले भने ।

त्यो आन्दोलनले आफूलाई धेरै पाठ सिकाएको नरेन्द्रकाे अनुभव छ । ‘यो आन्दोलनले धेरै कुरा सिकायो । यसरी भोगाइलाई बुझ्दै गर्दा जीवन एक संर्घष हो र संघर्षबाट जिउन सिक्नुपर्दछ भन्ने लाग्याे । विचार र लगनशीलता सही कार्यादिशालाई पहिचान गरी अगाडि बढ्ने हो भने संसारलाई जित्न सकिन्छ भन्ने विश्वास र कुरा सिकेको छु’, नरेन्द्र सुनाउँछन् ।

नरेन्द्रकाे शिक्षण यात्रालाई जनआन्दोलनले पनि छेकेन । उनले निरन्तर यात्रा अगि बढाइ नै रहे । उनी हाल शिक्षक पेसामा आबद्ध भएको करिब २५ वर्ष पुगिसक्यो । नरेन्द्रले ०५७ सालमा शिक्षक सेवा आयोगमा नाम निकालेर स्थायी शिक्षकका रूपमा अध्यापन शुरू गरेका थिए । उनीले करिब चार/पाँच वर्ष स्थायी रूपमा शिक्षण पेसामा आबद्ध रहे । त्यसपछि उनले यो बिचमा कर्णालीका धेरै विद्यालयमा अध्यापन गरे ।

हाल आफूले अक्षर चिनेको हिमा गाउँपालिका-७ धाचुगाउँमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा नयाँ भविष्य खोजेर शिक्षा लिन आउने बालबालिकाहरूलाई पहिले आफैँलेजस्तै कखरा सिकाइरहेका छन् ।

प्रतिक्रिया

One thought on “संघर्षले खारिएका ‘हेड सर’

Leave a Reply

Your email address will not be published. Required fields are marked *