चन्द्र ढकालको लगानीमा मौलाकालिका केबरकार निर्माण सुरु

एक वर्षभित्र सञ्चालनमा आउने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको प्रसिद्ध तीर्थस्थल मौलाकालिका मन्दिर जान केबुलकार निर्माण सुरु भएको छ । सबै प्रक्रिया सकेर निर्माणका काम सुरु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबलकार संचालनमा ल्याउने लक्ष्य राखेको बताए । यो ढकालको दोस्रो केबलकार प्रोजेक्ट हो । यसअघि चन्द्रागिरिमा केबलकार संचालनमा आइसकेको छ ।

‘मौलाकाली केबलकार संचालन गर्न औपचारिक अनुमतिका सबै काम सकिएको छ,’ ढकालले भने, ‘अब हामी फिल्डमा निर्माणको काममा जुटेका छौं ।’ उनले बढीमा एक वर्षभित्र केबलकार संचालनमा आउने दाबी गरे ।

‘केबुलकारसँगै निर्माण हुने होटलका लागि केही समय लाग्न सक्छ तर आगामी पुस महिनाभित्र केबुलकार सञ्चालनमा ल्याइसक्छौं,’ ढकालले भने, ‘अब आउने माघे सङ्क्रान्तिमा केबुलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइन्छ ।’

ढकालको कम्पनीले गैंडाकोटमा केबुलकारसँगै होटलसमेत संचालनमा आउनेछ ।

मौलाकाली केबुलकार कम्पनीले करिब साढे एक अर्बको लागतमा आयोजना अगाडि बढाएको हो । निर्माण सकिएपछि सर्वसाधारणका लागि समेत सेयर निकाल्ने उनले बताए । होटल निर्माण हुन भने दुई वर्ष लाग्ने ढकालले बताए ।

टप स्टेशनमा कन्स्ट्रक्सन निर्माणका लागि नापजाँचको काम भइरहेको छ । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबुलकारको टप स्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेशन हुने ढकालले जानकारी दिए ।

केबलकारले एकतर्फी लम्बाई एक हजार २०० मिटर हुनेछ । केबुलकारमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उनले बताए । केबुलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकालिका मन्दिर पुग्ने ढकालको भनाइ छ । अहिले मन्दिर पुग्न करिब एक हजार ८८२ खुड्किलो उक्लिँदा ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबलकार सञ्चालनमा आएपछि यहाँको पर्यटकीय क्षेत्रमा हरेकतर्फबाट टेवा पुग्ने उनको भनाइ छ । ‘यहाँ केबुलकार सञ्चालनमा आएपछि गैंडाकोट र नवलपुरलाई मात्रै नभइ छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्छ,’ ढकालले भने, ‘पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्छ ।’

केबलकार निर्माणका लागि स्थानीयले ४९ प्रतिशतसम्म रकम राख्न सक्नेगरी सहमति भएर काम अगाडि बढेको गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए ।

ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको मौलाकालिका मन्दिरमा लामो समयदेखि केबलकार सञ्चालनको माग उठेकाले स्थानीय सहभागिता व्यवसायी ढकाललाई निर्माणको जिम्मा दिइएको पौडेलको भनाइ छ ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमालले मौलाकालिका मन्दिरको इतिहास करिब ५०० वर्ष पुरानो भएको बताए ।

पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट स्नानका लागि जाँदा यहाँ मौला गाडिएको ठाउँमा पूजा गरेर जाने गरेको इतिहास भएको रिमालको भनाइ छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ समुद्र सतहदेखि ५६१ मिटर उचाइमा मौलाकालिका भगवतीको मन्दिर छ ।

विगतमा वर्षको दुई पटक मन्दिरमा पूजाआजा हुने गरिएको भए पनि अहिले दैनिकरुपमा मन्दिरमा पूजाआजा हुने गरेको छ । ‘पहिले चैते दसैं र बडा दसैंमा मन्दिरमा पूजाआज हुने गर्दथ्यो, ४२ सालपछि मन्दिरमा दैनिकरुपमा पूजा हुँदै आएको छ,’ रिमालले भने । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *