कर्णालीमा कोरोना तेस्रो लहर रोकथामको यस्तो छ तयारी

सुर्खेत । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट (ओमिक्रोन) का बिरामी तीव्र रुपमा बढिरहेका छन् । कोरोनाको तेस्रो लहर तीव्र रुपमा फैलिँदै गएको छ भने कोरोनाको रेडजोनमा परेका जिल्लाहरुमा स्मार्ट लकडाउन शुरु गरिएको छ । यसैबीचमा कर्णाली सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारका काम कारवाहीलाई प्रभावकारी र व्यवस्थित बनाउँदै कारोनाको तेस्रो लहरसँग जुध्नुपर्ने अवस्था आएकाले जनताको सुरक्षा कर्णाली सरकारको पहिलो प्राथमिकता भएको बताए ।

हाल कर्णाली प्रदेशभर एक महिनाको अवधिमा २४५ जनामा कोरोना संक्रमण देखिएको छ । २१० जनाको पिसीआर परीक्षणमा ६६ जना र एक हजार ३७२ जनाको एन्टिजिन परीक्षणमा १७९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । संक्रिय संक्रमित मध्ये २२८ जना होम आइसोलेसन र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् ।

हालसम्म कर्णाली प्रदेशभर पहिलो मात्राको खोप लगाउने ४५.४ प्रतिशत छन् । ३३.६ प्रतिशत नागरिकले पूर्ण मात्रामा खोप लगाएका छन् । जसमा १२ देखि १७ वर्ष उमेर समूहका ७८.६ प्रतिशत नागरिकले खोप लगाएका छन् भने १८ वर्षमाथि पहिलो मात्रा ५५.७ प्रतिशत र पूर्ण मात्रा ५१.३ प्रतिशत नागरिकले खोप पाएका प्रदेश सरकारले जनाएको छ ।

महामारी रोकथाममा के छ तयारी ?

कोरोना भाइरस नयाँ भेरियन्ट (ओमिक्रोन) संक्रमण फैलिन नदिन पिसिएमसीको बैठकबाट स्वास्थ्य संस्थाहरूको सवलीकरण, अक्सिजन प्लान्टहरूको सञ्चालन तथा स्वास्थ्यकर्मीहरुको परिचालनको प्रवन्ध मिलाइएको छ । यस्तै, एम्बुलेन्स खरिद गर्न प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रति अस्पताल २० लाखका दरले ८० लाख रुपैयाँ पठाइएको प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै, शववाहन खरिद गर्न स्वास्थ्य सेवा कार्यालय दैलेख, कालिकोट, सल्यान र स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमलाई प्रति अस्पताल १२ लाखका दरले ४८ लाख रकम पठाएको छ । प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदको लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड तथा सुर्खेतको पञ्चपुरी नगरपालिका सुर्खेतको कोभिड १९ व्यवस्थापकीय खर्चको लागि १० लाखगरी जम्मा रकम २ करोड ४८ लाख बजेट पठाइएको प्रदेश सरकारले जनाएको छ ।
यस्तै कर्णाली प्रदेश सरकारले प्रदेशका स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई पूर्ण सतर्कता र तयारी अवस्थामा राखिएको र प्रदेशवासीमा सतर्कता र सुरक्षित व्यवहारका लागि अपिलसमेत गरेको छ ।

६६ सामुदायिक इकाईमा ३ करोड बजेट
यस्तै, १० वटै जिल्लाभर जिल्लास्थित विभिन्न स्थानीय तहहरूमा कर्णाली प्रदेशबाट स्थापना भई सञ्चालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य इकाईहरुमा तीन लाखबढि रमक पठाई कार्यान्वयन गरिएको जनाएको छ । यसका लागि प्रतिएकाई ५ लाखका दरले जम्मा ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराई सामुदायिक स्वास्थ्य इकाईहरूको सेवा निरन्तर भइरहेको छ ।

८ वटा अक्सिजन प्लान्ट स्थापना
यस्तै, कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णाली प्रदेशले अक्सिजनको ठूलो अभाव भोग्नुपर्ने अवस्था आएको भन्दै हाल कर्णाली प्रदेश अस्पतालमा १, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवं चौधरी फाउण्डेशनको सहयोगमा वीरेन्द्रनगर नगर अस्पतालमा १, गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा यूएनडीपीको साझेदारीमा १, जिल्ला अस्पताल दैलेखमा १, कालिकोटमा १ रुकुम पश्चिममा १ गरेर ८ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरेको छ ।

कर्णाली भित्रिने मुख्य तीन वटा नाकामध्ये सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीड्स फाउण्डेशनको समन्वयमा भदौ १ गतेदेखि कोरोना परीक्षण तथा सुर्खेतको पश्चिममा पर्ने चौकुनेको जामुमा १५ बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ ।

यस्तै, कर्णालीको मुख्य प्रवेशद्वार रहेको भेरीगंगा नगरपालिकाको बबईमा भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकलाई भेरीगंगा नगरपालिका–१२ स्थित सरुवा रोग अस्पताल निर्माण हुने स्थलमा होल्डिङ सेन्टर निर्माणको काम सुरु भइसकेको छ । कर्णाली प्रदेश अस्पताललाई संक्रमितको चाप घटाउनका लागि भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी तथा सल्यानको कपुरकोटमा विगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *