नाकामा अझै हेलचेक्र्याइँ, निर्बाध आवतजावत

कैलाली । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण तीव्र भइरहेका बेला त्यसको रोकथामका लागि सीमा नाकामा भइरहेको प्रयास कमजोर देखिएको हो । भारतबाट स्वदेश फर्किरहेका अधिकांशमा कोरोना पुष्टि भइरहेका छ । तर नाकामा भने परीक्षण फितलो छ ।

नाकामा अहिले भारतमा लामो समय बसेर आएका व्यक्तिहरूबाहेक अन्यको परीक्षण भइरहेको छैन । भारतका पलिया, वनगाउँलगायतका बजारमा निर्बाध रूपमा आवतजावत भइरहेको छ । यसरी आउने जाने नेपालीहरूको परीक्षण हुने गरेको छैन । भारतमा बसेर आएकाहरूको नाकामा एन्टिजेन परीक्षण हुने गरेको छ ।

भारत बसेर आएकाहरु मात्रै अहिले दैनिक पाँच सयको हाराहारीमा नेपाल आइरहेका छन् । सोही संख्यामा किनमेललगायतको काममा भारतका सीमावर्ती वनगाउँ, पलियालगायतका बजारमा नेपालीहरूको आवतजावत भइरहेको छ । उनीहरू भने कुनै चेकजाँच वा परीक्षण बिना निर्बाध रूपमा आवतजावत गरिरहेका छन् ।

भारतमा कोरोना संक्रमण तीव्र बन्दा सीमामा थप कडाइ हुनुपर्ने भए पनि त्यसमा बेवास्ता गरिएको छ । भारतमा अहिले दैनिक अढाई लाख भन्दा बढी संक्रमित थपिइरहेका छन् । जसको संक्रमणको जोखिम नेपालमा छ । भारतको पलिया, वनगाउँलगायतका बजार क्षेत्रमा गएका नेपालीहरू त्यहाँका नागरिकसँग घुलमिल भएर नेपाल फर्किने गर्छन् ।

सीमा नाकामा स्वास्थ्यकर्मीको टोली परीक्षणका लागि खटिएको छ भने नेपाल रेडक्रस सोसाइटीले पनि सीमा नाकामा आवतजावत गर्नेहरूलाई परीक्षणको दायरामा ल्याउनका लागि कर्मचारी खटाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सीमामा खटिएको छ । तर भारतमा बसेर आएकाहरू बाहेकलाई परीक्षणको दायरामा ल्याइएको छैन । प्रशासनले नै सीमामा वारपार गर्नेहरूलाई परीक्षण गर्ने नीति लिएको छैन ।

विद्यालय बन्ददेखि २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भिडभाड गर्न नपाउने नियम लगाएको सरकारले नाकामा दैनिक वारपार गर्ने सैयौं नेपालीलाई भने रोक्न नसकेको हो । जहाँबाट कोरोना संक्रमण फैलिने जोखिम बढी छ ।

‘कोरोना फैलिनबाट रोक्न जसरी सरकारले विद्यालय बन्द गर्नेलगायतका निर्णय गरेको छ त्यसैगरी नाकामा पनि कडाइ गर्नुपर्छ,’ धनगढी १ का दिनेश नेपालीले भने, ‘सीमा नाकामा खुकुलो पारेर देशभित्र मात्रै कडाइ गर्नुको कुनै अर्थ छैन । स्थानीय प्रशासनले यसतर्फ बढी ध्यान दिनुपर्ने हो ।’

प्रशासनले जारी गरेको आदेश पनि कार्यान्वयन नभएको र सरकारकै निकाय नै सो आदेशलार्ई उलङ्घन गरिरहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रमुख दुई नाका त्रिनगर नाका र गड्डाचौकी नाकाबाट आउने अधिकांश नेपालीहरूमा कोरोना पुष्टि भइरहेको छ ।

प्रदेशमा एक हप्ताको अवधिमा झण्डै दुई हजार जनामा कोरोना पुष्टि भइसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार गएको पुस २६ गतेदेखि माघ २ गतेसम्म एक हजार ७७५ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयका निमित्त निर्देशक ओमप्रकाश जोशीका अनुसार प्रदेशमा देखिएका संक्रमितमध्ये ९० प्रतिशत भन्दा बढी संक्रमित भारतबाट फर्किएकाहरू छन् । संक्रमितलाई व्यवस्थित गर्न नसकेमा समुदाय स्तरसम्म संक्रमण फैलिने खतरा रहेको बताए ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले सुदूरपश्चिमका नाकाहरूमा भारतबाट आउनेहरूको परीक्षणमा कडाइ गरिएको दाबी गरेका छन् । उनले संक्रमितहरुलाई कम्तीमा १० दिन होम आइसोलेसन बस्न आग्रह गर्दै आफन्तको जिम्मा लगाएर पठाउने गरिएको बताए ।

‘नाकामा पोजेटिभ देखिएकालाई कनरी आइसोलेसनमा लैजाने गरेका छौँ,’ उनले भने, ‘त्यहाँबाट उनीहरूको आफन्तको जिम्मा लगाएर होम आइसोलेसनमा पठाउने गरेका छौँ । संक्रमण फैलिन नदिन स्वयम व्यक्तिले नै ध्यान दिनुपर्ने अवस्था हो ।’ सुदूरपश्चिममा होल्डिङ सेन्टर नहुँदा भारतबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई होम आइसोलेसनमा पठाउनुपर्ने अवस्था छ ।

कैलाली र कञ्चनपुरमा संघीय सरकार अन्तर्गत ठूला होल्डिङ सेन्टर निर्माणाधीन छन् । तर निर्माण सम्पन्न गरिसक्नुपर्ने समय समाप्त भए पनि होल्डिङ सेन्टरको निर्माण कार्य अधुरै छ ।

आदेशको पालना हुँदैन
कोरोना संक्रमण रोक्न यहाँ स्थानीय प्रशासनले जारी गरेको आदेशको व्यापक उलङ्घन भएको छ । प्रशासनद्वारा जारी आदेशमा ‘एकै स्थानमा २५ जना भन्दा बढी भौतिक रूपमा उपस्थिति हुने गरी कुनैपनि गतिविधि गर्न पाइने छैन’ भनेर उल्लेख गरिएको छ । तर यहाँ राजनीतिक दलहरूका सभाहरूदेखि अहिले माघी पर्वका अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू भइरहेका छन् ।

स्वयम स्थानीय र प्रदेश सरकारले नै त्यसको पालना गरेका छैनन् । भिडभाड हुने कार्यक्रममै स्थानीय तहका प्रमुख र प्रदेश सरकारका मन्त्रीहरू प्रमुख अतिथि र अतिथि हुने क्रम चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *