मिरगञ्ज पुल नेपाली व्यापारीको समस्या, दैनिक ३० लाख व्ययभार

विराटनगर । भारतबाट नेपाल तर्फ आउने माल बहाक सवारी साधन अहिले सहज विराटनगरको नाका भएर नेपाल प्रवेश गर्न पाउँदैनन् । माल बहाक सवारी साधनलाई मिरगन्ज पुलबाट आउ-जाउमा रोक लगाईएपछि समस्या भएको हो । भारतको जोगवनीमा रहेको मिरगन्ज पुल भासिएको भन्दै भारतीय प्रशासनले पुलमा सामान बोकेर आएका मालबहाक सवारीलाई आउ-जाउमा रोक लगाएपछि अहिले नेपाली व्यवसायी समस्यामा छन् ।

भारतीय प्रशासनले एक हप्ता अघि बढी भार बोक्ने सवारी साधन आवत-जावतका कारण परमान खोलाको मिरगञ्ज पुलमा क्षति पुगेको भन्दै भारतबाट जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने सवारीले प्रवेश पाएका छैनन् । पुलको हालको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको र प्राविधिक टोलीको प्रतिवेदनका आधारमा छिट्टै थप प्रक्रिया अघि बढ्ने जनाइएको भएपनि अहिलेसम्म भारतीय पक्षले अवस्था के हो भन्ने उल्लेख गरेको छैन ।

जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न नपाएका मालबहाक सवारीहरु भिमपुर हुँदै भान्टाबारी नाकाबाट नेपाल प्रवेश गर्ने गरेका छन् । सहज र छोटो नाका विराटनगर भन्सार भएर नेपाल प्रवेश गर्नु पर्ने सामानहरु भान्टाबारी नाकाबाट नेपाल प्रवेश गरेर फेरि विराटनगर भन्सार (एकिकृत भन्सार जाँच चौकी)मा पुगेर मात्र उद्योगमा सामान लग्नु पर्ने झण्झट ब्यहोर्दै आएका छन् । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले भान्टाबारी नाकाबाट नेपाल प्रवेश गरेका सवारी साधन प्रहरीको स्कर्टिङमा विराटनगर भन्सार पुगेर चेकजाँच पछि मात्र फेरि नेपाल फर्किएर उद्योगसम्म पुग्ने गरेको बताए । ‘मिरगन्ज पुलमा समस्या आएपछि माल बहाक सवारी साधन आउ जाउ गर्न रोक लगाईँदा निक्कै समस्या आएको छ’, उनले भने, ‘हरेक वस्तुमा प्रति किलो एक रुपैयाँ भन्दा बढी महँगो पर्न गएको छ ।’

रिजालले अहिलेको समस्याले उद्योगीहरुलाई निक्कै समस्या भएको बताएका छन् । यसको असर अहिले औद्योगिक क्षेत्रमा देखिएको उनी बताउँछन् । सामान ल्याउन समय लाग्ने, घुमाएर ल्याउनु पर्ने, लागत बढी लाग्ने, नेपाल प्रवेश गरेका सवारी फेरि जोगवनी भन्सारमा लगेर त्यहाँबाट फेरि फर्काएर ल्याउनु पर्ने अवस्था रहेको उनले सुनाए । अहिले देखिएको समस्याको बारेमा नेपाल सरकार तथा परराष्ट्र मन्त्रालय र भारतीय जनता पार्टी (भाजपा)का नेताहरुलाई पनि समस्या समाधानको लागि पहल गर्न भनिएपनि सुनुवाई नभएको व्यवसायीको भनाई छ । व्यवसायीले भान्टाबारी नाका हुँदै माल वस्तु नेपाल प्रवेश गराउनको लागि एउटा गाडी बराबर करिब १० देखि १५ हजार अतिरिक्त खर्च बढ्ने बताउँदै आएका छन् ।

यसअघि पनि मिरगन्ज पुल मर्मतको नाममा नेपाल तर्फ आउने मालबहाक सवारी साधन संचालनमा भारतीय पक्षले रोक लगाउँदै आएको थियो । नेपाली व्यवसायीले पहिलाको जस्तो समस्या फेरि दोहोरिएको बताएका छन् । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका अहिले उद्योगहरुमा आयातहुने वस्तुको लागत बढेको बताउँछन् । मिरगञ्जको पुल मर्मत गर्नुपर्ने वा बिकल्पको नयाँ पुल निर्माण गर्न दवाव दिँदै आएको भएपनि नेपाल सरकारको तर्फबाट कुनै पहल नभएको उनको भनाइ छ । ‘अहिले पुल मर्मत हुने अवस्था छैन’, उनले भने, ‘त्यसको नजिकै नयाँ पुल बनेको छ, त्यो पुललाई संचालनका लागि हाम्रो सरकारले अलिकति भुमिका खेल्यो भने सहज हुनेछ ।’ कलकताबाट ३ दिनमा विराटनगर सामान लिएर आएको गाडी अहिले भिमनगर नाका प्रयोग गरेर आउँदा ६ दिन लाग्ने गरेको उनी बताउँछन् ।

मालबहाक सवारी विराटनगर प्रवेशको एक मात्र पुल भएको कारण यो पुलमा सामान्य समस्या आउने बितिकै त्यसको असर उद्योगसम्म पर्दै आएको छ । पुलबाट मालबहाक सवारी आउन नदिँदा अहिले सुनसरीको भान्टाबारीको छोटी भन्सार नाका प्रयोग भएको छ । पुल मर्मत सम्हार नहुने, हरेक वर्ष यस्तै बहानामा नेपाल तर्फ आउने मालबहाक सवारीका साधनले सास्ती पाउँदै आएका छन् ।

‘हाम्रो व्यवसायी समस्या समाधान गरिदिनु पर्यो भन्दै राज्य गुहाछौँ, तर समस्या ज्यूँको त्युँ हुँन्छ’, विराटनगरका व्यवसायी मुरारकाले भने, ‘अन्तराष्ट्रिय ट्रान्जिट बाटोलाई सहज गराउनका लागि सरकार गम्भीर देखिएन ।’ बनेको पुल संचालन गर्नको लागि पनि पहल नपुगेको जस्तो देखिएको छ । नजिकै निर्माण पुरा भएको पुललाई संचालन गराउनको लागि भारतीय दुतावास मार्फत जाने हो भने पनि गर्न सकिने उनको भनाइ छ । उनी मोरङ सुनसरीका उद्योगी व्यवासीलाई ठुलो असर परेको बताउँछन् । अहिले दैनिक ३ सय मालबहाक गाडी भिमनगर नाका हुँदै नेपाल आउन बाध्य छन् । यी सवारीबाट न्यूनतम दैनिक ३० लाख व्ययभार ब्यहोर्नु परेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *