‘पिर्के सलामी’को प्रश्न छल्न मन्त्री झाँक्री अरु प्रश्नमा पनि माैन

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सोमबार (आज) मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिन् । आफूले मन्त्रालय सम्हालेको १०० दिनमा गरेको गतिविधि र कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले  मन्त्रालयसँग सम्बन्धित विषय सँगै मन्त्री झाँक्रीले लिएकाे ‘पिर्के सलामी’ बारे पनि प्रश्न गर्न छुटाएनन् ।

मन्त्री झाँक्रीले ३७ बुँदे आफ्नो कार्यप्रगति विवरण प्रस्तुत गरिसकेपछिकाे सवाल-जवाफ सेसनमा पत्रकारहरूले ‘पिर्के सलामी’ बारे पनि प्रश्न गरेका थिए । ‘पिर्के सलामी किन खानुभयो भनेर सोध्दैनौँ, तर खाँदाचाहिँ कस्तो अनुभव हुँदो रहेछ ?’ भन्ने पत्रकारहरूकाे प्रश्नमा मन्त्री झाँक्रीले केही बोलिनन् । पत्रकारहरूको एकमुष्ट प्रश्नको जवाफ दिनेगरी प्रश्न संकलन गरिरहेकी झाँक्रीले ‘पिर्के सलामी’ को प्रश्नलगत्तै भने आक्रोश पोखाइन् । ‘पिर्के सलामी’बारे गरिएकाे प्रश्नलाई मन्त्री झाँक्रीले अर्थहीनसमेत भन्न भ्याइन् । अन्य प्रश्नमा लगत्तै केही नबाेलेकी उनले ‘पिर्के सलामी’ को प्रश्नमा भने बोलिहालिन्, भनिन्- ‘नेपालमा यस्तै अर्थहीन प्रश्न साेधिन्छन् र त… ।’

यसपछि पनि पत्रकारहरूले सम्बन्धित विषयबारे प्रश्न गर्दै गए । अन्तिममा प्रश्नहरूकाे जवाफ मन्त्री झाँक्रीले दिइनन् । सबै प्रश्नहरूको जवाफ मन्त्रालयका सचिवहरूले दिए । मन्त्री झाँक्रीले बरु सचिवहरू अड्किएकाे ठाउँमा भनिदिएर सहजीकरण गरिरहिन् । यसपछि पत्रकार सम्मेलन सकियाे । मन्त्री झाँक्रीले नै आयाेजना गरेकाे पत्रकार सम्मेलन उनैले केही प्रश्नहरूकाे जवाफ नदिइ सकियाे ।

यसअघि पुस १९ गते गृहजिल्ला गुल्मीको मदाने गाउँपालिका पुगेकी मन्त्री झाँक्रीले इलाका प्रहरी कार्यालय, पुर्कोटदह प्रहरीबाट ‘पिर्के सलामी’ लिएकी थिइन् । यसपछि उनको तीव्र आलोचनासमेत भएको थियो ।

मन्त्री झाँक्री मन्त्री हुनुपूर्व ‘पिर्के सलामी’ लिने नेता तथा मन्त्रीहरूको कट्टर आलाेचक थिइन् । २ वर्षअघि उनै मन्त्री झाँक्रीले ‘पिर्के सलामी’ लिइरहेको एक जनप्रतिनिधिकाे तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै ‘टेबल सलामी, पिर्के सलामीपछि कुर्सी सलामी’ भनेर ब्यंग्य गरेकी थिइन् ।

त्यसअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरूले पनि ‘पिर्के’ सलामी खाएका थिए । जसकाे मन्त्री झाँक्रीले डटेर विराेध गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *