ब्याडमिन्टनका ‘राजकुमार’ प्रिन्स : दार्चुलाको कोर्टदेखि विश्व नम्बर एकसम्मको कथा

काठमाडौँ ।  प्रिन्स दाहाल चर्चामा छन् । चर्चामा नहुन् पनि किन, विश्व ब्याडमिन्टन फेडेरेसनले सार्वजनिक गर्ने वरीयतामा उक्लिएयता निरन्तर छलाङ मार्दै अघि बढेका प्रिन्स अन्तत: उचाइको सगरमाथामा पुगि छोडे । अहिले उनी ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर एक खेलाडी बन्न सफल भएका छन् ।

उनको यो उपलब्धिका पछिको संघर्ष र लगावको कथा रोचक छ । बालकमै बुबाको हात समाएर ब्याडमिन्टन कोर्टमा पुग्ने बानी लागेका प्रिन्स बुवाकै पदचाप पछ्याउँदै र्‍याकेट हातमा लिएर कोर्टमा अघि बढे । प्रिन्सलाई डोहोर्‍याउँदै कोर्टमा पुर्‍याउँदा बुबा नारायण दाहालले छोरोले ब्याडमिन्टनमै जम्ला भन्ने शायदै सोचेका थिए होलान् । तर, दार्चुलाको खलंगामा रमाइलोका लागि गर्ने ब्याडमिन्टन ब्यायामले आखिर प्रिन्सलाई विश्व प्रसिद्ध बनायो ।

ब्याडमिन्टनप्रतिको उनको लगाव सानैबाट देखेपछि मामा कमलेश निरौलाले भान्जालाई काठमाडौँ बोलाए । दार्चुलाबाट काठमाडौँ आउन पाएपनि प्रिन्सका लागि त्यसपछि संघर्षका दिन शुरू भएको मान्छन् मामा कमलेश । ‘भान्जाको लगाव र प्रयास सार्थक बनाउन धेरै मेहनत गर्नुपरेको छ, कतिपटक सम्बन्धित निकायको साथ नपाउँदा निराश बन्नुपरेको छ भने कतिपटक उनको सफलतामा भावविह्वल बनेका छाैँ,’  कमलेशले मकालुखबरसँग भनेका छन् ।

प्रिन्स नौ वर्षको हुँदा कृष्णमोहन स्मृति राष्ट्रिय ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न पहिलोपटक काठमाडौँ आएका थिए । उनी पहिलो खेलमानै पराजित बने ।

गाउँबाट काठमाडाैँमा राष्ट्रिय प्रतियोगिता खेल्न आउँदा प्रिन्सलाई हारको दु:खभन्दा प्रतियोगिताको अनुभव नौलो र रोमाञ्चक रह्यो । उनी पुन: दोस्रोपटक पुष्पलाल स्मृति प्रतियोगिता खेल्न काठमाडौँ आए । प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी प्रिन्सले दुई खेल जित्दै क्वार्टरफाइनल पुग्दै इतिहास रचे ।

उनको त्यही सफलता देखेर नेपाल पुलिस स्कूलले प्रिन्सलाई भर्ना र होस्टेलमा बस्ने मौका दियो । पुलिसको कोर्टमा प्रिन्सले आफूलाई झनै परिस्कृत गर्दै लगे । पुलिस क्लबका हाकिमहरू पनि प्रिन्ससँग ब्याडमिन्टन खेल्न चाहन थाले । उनी सहजै र्‍याकेट समाएर कोर्टमा पुगिहाल्थे ।

यसरी शुरू भएको उनको ब्याडमिन्टन यात्रा एउटा ऐतिहासिक फड्को मार्न सफल भएको छ । ९ वर्षदेखि राष्ट्रिय प्रतियोगिता खेल्दै आएका उनी १८ वर्षका भएका छन् । यो ९ वर्षको अवधिमा उनी जुनियरतर्फ विश्व नम्बर एक बन्न सफल भए ।

उनका लागि अब एक वर्षसम्म आफ्नो शीर्ष स्थान टिकाउने चुनौती छ । प्रिन्स भन्छन्— ‘यो मेरो लागि साँच्चै नै ठूलाे उपलब्धि हो । मेरो सपना पूरा भएको अवसरका रूपमा लिन्छु । तर अब मेरो लागि एक वर्ष यो उपलब्धिलाई टिकाएर सिनियरतर्फ पनि राम्रो गर्नु मेरो चुनौती हुनेछ ।’

प्रिन्सको ठूलाे उपलब्धिका रूपमा दुबईमा भएको यू-१९ जुनियर ब्याडमिन्टन सिरिज हो । जहाँ उनले वरीयतामा आफूभन्दा धेरै माथि रहेका खेलाडीलाई हराउँदै सनसनिपूर्ण रूपमा उपाधि उचाले । यो सफलता पछि उनी वरीयतामा छलाङ मार्न सफल भए । तर नियमित प्रतियोगिता हुन नसक्दा लामो समय विश्व ब्याडमिन्टन फेडेरेसनले वरीयता सार्वजानिक गरेको थिएन । उनी पछिल्लो पटक १० हजार ४ सय अंकका साथ तेस्रो स्थानमा थिए । तर उनी अघिका दुई खेलाडी १९ वर्ष भन्दा बढी उमेर समूहमा पुगेसँगै वरीयताकाे होडबाट बाहिरिए । तेस्रो स्थानका प्रिन्स नयाँ वरीयतामा शिखरमा पुगे ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका कारण प्रिन्सको वरीयतामा अंक भने सुधार हुन सकेको छैन । विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेसनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गरेको छ। अब प्रिन्स वरीयतामा कायमै रहनका लागि प्रयास गर्ने बताउँछन् । भन्छन्, ‘मेराे अबको लक्ष्य एक वर्षसम्म वरीयतामा अंक सुधारका लागि हुनेछ ।’

किनपनि भने उनी अर्को वर्षदेखी १९ वर्ष लाग्नेछन् । त्यसपछि स्वत: जुनियरबाट सिनियर स्पर्धामा पुग्नेछन् ।

प्रिन्सले सन् २०१९ को मेदेखि विश्व वरीयतामा आफूलाई समावेश गरेका हुन् । त्यही वर्ष दुबई इन्टरनेसनल सिरिजमा नवौँ वरीयतामा रहेका भारतका वरुण कपुरलाई पराजित गरेर उपाधि जितेपछि उनी १०३ बाट एकैपटक ५४औं वरीयतामा पुगेका थिए । त्यसपछि उनले निरन्तर वरीयता सुधार गरे । प्रिन्सले वरीयतामा समावेश भएपछि ११ प्रतियोगितामा सिंगल्सतर्फ २९ खेल खेल्दा १९ वटा जितेका छन् ।

उनी यो सफलतालाई जोगाउँदै अब ओलम्पिकमा कुनै न कुनै पदक जित्नु आफ्नो लक्ष्य रहेको र अब त्यसैअनुसार अघि बढ्ने बताउँछन् । यो लक्ष्य सजिलो नभएपनि लगातारको मेहनत र लगावले यो लक्ष्य भेट्टाउने उनको अठोट छ । हुन पनि खेल्न थालेको ९ वर्षमै विश्व नम्बर १ बन्न पनि सजिलो कहाँ थियो र ? त्यो सफलता हात पारेका उनी यो लक्ष्यमा पनि सफल बन्न सके उनी स्वयम् र नेपालका लागि पनि ऐतिहासिक हुने छन् ।

प्रिन्सका उपलब्धि:

–सन् २०१८ मा दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिजमा यू-१५ को उपाधि ।
– योनेक्स-सिन्हा-रोजा-बिटिवाइ जुनियर इन्टरनेशनल च्यालेन्ज २०१९ यु-१७ तर्फ रजत पदक ।
– दुबई यू-१९ जुनियर अन्तर्राष्ट्रिय सिरिजमा स्वर्ण पदक ।
– अन्नपूर्ण कर्पोरेट अन्तर्राष्ट्रिय सिरिज २०१९ को मेन्स सिंगल्सतर्फ रजत पदक।
– साउथ एसियन रिजनल अन्डर-२१ अक्टोबर २०१९ मा माल्दिभ्स रजत पदक ।
– सन् २०१९ अप्रिल जर्मन इन्टरनेसनल सिरिजको क्वार्टरफाइनल ।
– १३औं दक्षिण एसियाली खेलकुद २०१९ टिम र मेन्स डबल ओपन इभेन्टमा कास्य पदक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *