गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

काठमाडौँ । बागमती प्रदेश प्रधान मन्त्री कप टी-२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार टीयू मैदान कीर्तिपुरमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा बागमतीले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै समूह ‘बी’ मा ६ अंक बनाएर उपविजेता बन्दै अन्तिम चारमा पुग्यो।

टस जितेर पहिलो ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा १ सय ४३ रन बनाएको थियो। तर जवाफमा गण्डकी निर्धारित २० ओभर नै खेल्न सफल भए पनि केवल १०३ रन मात्र जोड्न सक्यो।

पहिलो ब्याटिङ गरेको बागमतीका लागि विपिन्न आचार्यले सर्वाधिक ३० रन बनाउँदा सुवास खकुरेल र प्रतिश जिसीले समान २७-२७ रन बनाए। त्यस्तै लक्की कठायतले १७ रन जोड्दा नन्दन यादवले १४ रनको स्कोर तयार गरे।

गण्डकीका लागि कृष्ण पौडेल र विशाल पौडेलले २-२ विकेट लिएका थिए। १४४ रनको लक्ष्य पछ्याएको गण्डकी बागमतीका बलर सामु निरीह रह्यो। गण्डकीका पाँच खेलाडीले समान १०-१० रन बनाएका थिए।

गण्डकीका लागि कमल परियारले ११ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। बागमतीका लागि नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले समान २-२ विकेट लिए।  त्यस्तै प्रतिश जिसी, रिजन ढकाल र रामनरेश गिरीले १-१ विकेट लिएका थिए।  समूह ‘बी’बाट एपिएफ विजेता र बागमती उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *