आफ्नै मनलाई सुनेर दौडिरहेकी सुनमाया

सुर्खेत । सुनमाया बुढाको नाम अहिले विश्वभरि चिनिएको छ । जुम्लाको पातरासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी सुनमाया ‘थाईल्याण्ड बाई युटिएमबी ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगिताको महिलातर्फ पहिलो र पुरुष/महिलातर्फ समग्रमा तेस्रो भएसँगै विश्वभरि चर्चित भएकी हुन् ।

थाईल्याण्डको च्याङ्गमाइमा भएको यो प्रतियोगिता एसियाकै सबैभन्दा ठूलो ‘ट्रेल रेस’को रूपमा परिचित छ । सुनमायाले ११० किलोमिटरको दुरी १४ घण्टा ५४ मिनेट एक सेकेण्डमा पुरा गरेकी थिइन् । महिलातर्फ दोस्रो भएकी नेपालकै चर्चित अल्ट्रा म्याराथन धावक मिरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् ।

विकट गाउँको सामान्य किसान परिवारमा जन्मिएकी सुनमाया ७ कक्षामा पढ्दादेखि नै खेलमा आकर्षित हुन थालेकी हुन् । विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट खेलयात्रा शुरु गरेसँगै खेलप्रति हुरुक्क हुँदै गएको उनी बताउँछिन् । तर, बाबुआमाको चाहना भने सरकारी जागिरे बनिदेओस् भन्ने थियो ।

१० कक्षाको परीक्षा दिएपछि सुनमायाले राम्रो पढाइका जिल्ला बाहिर गएर पढ्ने प्रस्ताव बुबा आमा समक्ष राखिन् । तर, परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको प्रस्ताव स्वीकृत भएन । सुनमाया भन्छिन् ‘बाबाआमाले बाहिर गएर पढाई गर्ने पैसा नभएको सुनाउनुभयो, बरु बिहे गर, भन्नुभयो ।’ उनलाई बिहे गर्ने मनै थिएन । उनी त घर बाहिर पढ्न जाने र खेलकुदमा अझ ध्यान दिने योजनामा थिइन् । घरबाट अनुमति पाउने सम्भावना नभएपछि सुनमाया कसैलाई नसोधी सदरमुकाम सिँजा गइन् ।

…अनि शुुरू भयो खेल यात्रा
सिँजा पुगेपछि सुनमाया कलेजभन्दा पनि खेलतिर बढी केन्द्रित भइन् । ‘कलेज त म एकदुई हप्ता मात्र गएँ । बाँकी समय रनिङ गर्न थाले । मलाई धेरै जनाले खेलमा नलाग, पैसा आउँदैन भन्नुहुन्थ्यो । तर, मैले खेललाई माया मार्नै सकिनँ । निरन्तर लागिरहेँ’ सुनमायाले सुनाइन् ।

सुनमायाले यसअघि धरान म्याराथन, जुम्ला म्याराथन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्र्ड ट्रेल सिरिजमा पदक जितेकी छन् ।

सुनमाया आफ्नो यहाँसम्मको यात्राको मुख्य श्रेय म्याराथन धावक हरि रोकायालाई दिन्छिन् । हरि सुनमायाका गुरु पनि हुन् । सुनमायाले गुरु जस्तै बन्न निरन्तर खेलतिरै लागिरहेको बताउँछिन् । भन्छिन् ‘गुरुले जति गेमहरू जित्नुभयो । म पनि गुरु जस्तै गेमहरू जित्न सक्छु नि भन्ने आँट आउँथ्यो । म यही सोचेर मैले सन् २०१६ देखि रनिङ गर्न थालेँ ।’

त्यसपछि सुनमाया पहिलोपटक ‘ट्रेल रेस’ मा सहभागी हुन काठमाडौँको गोदावरीमा गइन् । त्यहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ उनले जितिन् । उनलाई त्यतिबेला ‘ट्रेल रेस’ को बारेमा खासै जानकारी थिएन । तर, जुम्लाबाट गुरु हरिले गेम गोदावरी जान सुझाव दिए । सुनमायाले त्यो खेल जितेपछि त्यहीँबाटै आफ्नो ‘अल्ट्रा ट्रेल’रेस रनिङको यात्रा तय भएको बताइन् ।

बुबा आमा पनि खुशी
पढ्न भनेर घर छोडेकी छोरी खेलाडी बनेकोमा अब भने सुनमायाका बुबा आमालाई खासै गुनासो छैन । सुनमायाले भनिन् ‘बुबा-आमा गाउँमै हुनुहुन्छ, खुशी हुँदै अझै राम्रो गर्नुपर्छ भनेर हौसला दिनुहुन्छ । हुन त यसअघि पनि मैले धेरै देशमा खेलेँ र पुरस्कारहरू पनि जिते ।

तर, खासै कसैलाई थाहा हुँदैनथ्यो । एक्लै नेपालबाट बाहिर जाँदा निकै पीडा हुन्थ्यो । अन्य खेलाडीलाई बिदाइ गर्दा एयरपोर्टमा परिवारका मानिस फुलमाया लिएर पुग्थे तर मेरो त काठमाडौँमा कोही हुनुहुँदैनथ्यो । त्यस्तो बेला चाहिँ एक्लो र नरमाइलो महसुस हुन्थ्यो ।’ तर यसपटकको उपलब्धिपछि आफूलाई धेरैतिरबाट हौसला मिलेको र बुबा आमा पनि आफ्नो यो उपलब्धिमा खुशी भएपछि आफूलाई झनै रमाइलो लागेको सुनमायाले सुनाइन् ।

सुनमाया दौडन पुगेका देशहरू
सुनमायाले थाईल्याण्ड, स्विजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रेलियालगायतका देशमा आयोजित दौड प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । करिब ६ वर्षअघि ‘अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

सुनमायाको लगाव तथा दौडमा विश्वस्तरीय क्षमता देखेर नै एसियाकै प्रसिद्ध ‘द नर्थ फेस एडभेन्चर टिम’ले उनलाई पूर्णकालीन खेलाडीका रूपमा अनुबन्ध गरेको छ । योसँगै सुनमायाले तलबका साथमा निःशुल्क प्रशिक्षण, दौडसम्बन्धी सामग्रीलगायत पाउँछिन् ।

एसिया प्यासिफिक एडभेन्चर कम्पनीद्वारा सन् २००६ मा हङकङमा स्थापित साहसिक ‘कर्णाली स्पोर्ट्स क्लब’मार्फत क्षेत्रीय दौड प्रतियोगिताहरूमा खेलेको अनुभव सुनमायाको छ । सन् २०१६ मा भएको १५२ किलोमिटरको मनास्लु माउन्टेन ‘ट्रेल रेस’मा प्रथम भएपछि भने उनीप्रति धेरैको ध्यान केन्द्रीत भएको थियो ।

कर्णाली सरकारको सम्मान
सुनमायालाई कर्णाली सरकारले सम्मान गरेको छ । गत सोमबार बिहान सुर्खेत विमानस्थलदेखि मुख्यमन्त्री कार्यालयसम्म उनलाई ‘नागरिक सम्मान’ गरिएको थियो । उनको स्वागत गर्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले महत्त्वपूर्ण काम गरिरहेको बताएका थिए ।

साथै मुख्यमन्त्री शाहीले प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रोत्साहनबापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । सुनमायालाई प्रदेश सरकारले दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

तस्बिरहरू : सुनमायाको फेसबुक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *