हजार बेडको हाेल्डिङ्ग सेन्टर, सय बेड पनि सञ्चालनमा ल्याउन सकस

मुख्यमन्त्री भन्छन् ‘चार दिनभित्र सञ्चालमा ल्याउँछु’

विराटनगर । कोभिड संक्रमण शुरू भएको दुई वर्ष बितिसक्दा पनि अझै प्रदेश १ मा होल्डिङ्ग सेन्टर निर्माण हुन नसकेको भन्दै चौतर्फी आलोचित भएपछि सरकारले चासो दिएको छ । सरकार गठन भएको तीन महिना पुग्न लाग्दासमेत नागरिकको बारेमा कुनैपनि काम गर्न नसकेको आरोप प्रदेश १ सरकारलाई लाग्दै आएको छ । काम गर्न नसकेको भन्दै आलोचित बनेको प्रदेश १ सरकारले ४ दिनभित्र होल्डिङ्ग सेन्टर बनाउने दाबी गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ्ग सेन्टर संचालनमा ल्याउने दाबी गरेका छन् । मुख्यमन्त्री राई आज विराटनगर सीमा क्षेत्र रानी तथा होल्डिङ्ग सेन्टरको अनुगमन तथा निरीक्षण गर्दै चार दिनभित्र होल्डिङ्ग सेन्टर निर्माण पूरा गरी संचालनमा आउने दाबी गरे ।

जुटमिलभित्र प्रदेश सरकारको लगानीमा नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेकाे एक हजारमध्ये एक सय बेड ४ दिनभित्र निर्माण पूरागरी संचालनमा ल्याउने बताए । ‘चार दिनभित्रमा एक सय बेडको र बाँकी १५ दिनमा भित्रमा दुई सय शैय्याको संचालन गर्नुपर्छ,’ उनले भने, ‘होल्डिङ्ग सेन्टरमा आवश्यक विद्युत्, पानी, शौचालयको तत्काल व्यवस्था गरी कोरोना समुदायसम्म सङ्क्रमण फैलिन नदिन अविलम्ब संचालन गर्नुपर्ने आवश्यक्ता छ ।’

मुख्यमन्त्री राइले निर्माणाधीन होल्डिङ्ग सेन्टर निर्माण सम्पत्र गर्नका लागि रकमको अभाव हुन नदिने दाबी गरे । सिमा नाका बन्द गर्ने बारेमा प्रदेश सरकारले केही गर्न नसक्ने राईकाे भनाइ छ । सीमा निरीक्षणक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सीमा क्षेत्रमा दुवै देशका नागरिकहरुलाई आवागमन व्यवस्थित गर्नु पर्ने बताए ।

सामाजिक विकास मन्त्री जयराम यादवले सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा कोरोना परीक्षणमा पोजेटिभ देखिएकालाई स्थानीय निकायको सहयोगमा होल्डिङ सेन्टर पु¥याईने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले होल्डिङ सेन्टर तत्काल सम्पन्न गरि अन्य विपद्का समयमा पनि यसलाई प्रयोग गर्न सकिने स्पष्ट पारे ।

विराटनगर जुटमिल क्षेत्र भित्र २८ करोडको लागतमा एक हजार क्षेत्रमताको होल्डिङ सेन्टर निर्माण हुँदै छ । भदौमा नै निर्माण पुरा हुनु पर्ने होल्डिङ सेन्टरमा अहिलेसम्म १६ करोड मात्र रकम निकासा भएको छ । आर्थिक प्रगतीको आधारमा भौतिक प्रगति पनि त्यही अनुसार भएको प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *