पाँच महिनामा ८ खर्ब ३८ अर्बको आयात, व्यापार घाटा ५४ प्रतिशतले बढ्याे

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिना (मंसिरसम्म) मा ८ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कुल वस्तु आयात भएको छ ।
चालु आवको पाँच महिनामा वस्तु आयात ५९.५ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले देखाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा आयात ९.६ प्रतिशतले घटेको थियो ।
यो अवधिमा भारतबाट भएको आयात ४४.६ प्रतिशतले बढेको छ । त्यस्तै, चीनबाट भएको आयात ५७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १११.२ प्रतिशतले बढेको छ ।
पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ । सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्तीलगायतका वस्तुको आयात घटेको छ ।
त्यस्तै, चालु आवको पाँच महिनामा १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको कुल वस्तु निर्यात भएको छ । निर्यात १०५.६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा निर्यात जम्मा ५.१ प्रतिशतले बढेको थियो ।
भारततर्फ हुने निर्यात १३८.० प्रतिशत र अन्य मुलुकमा हुने निर्यात २८.५ प्रतिशतले बढेको छ । तर, चीनतर्फ हुने निर्यात चीनमा हुने १.४ प्रतिशतले घटेको छ ।
पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ । तर, यो अवधिमा अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
कञ्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट भएको निर्यात बढेको छ । आयाततर्फ भने वीरगन्जलगायत सबै प्रमुख नाकाबाट भएको आयात बढेको छ ।
चालु वर्षको ५ महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो ५ महिनामा कुल व्यापार घाटा १०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ६१ अर्ब ८१ करोड बराबरको भएको थियो ।









