नेपालको बिजुली बंगलादेश पुर्याउन अध्ययन गर्दै भारतको अडानी समूह

काठमाडौँ । नेपालले बढ्दो जलविद्युत् उत्पादनका लागि बाह्य बजार खोजिरहेका बेला भारतको अडानी समूहले यसबारे अध्ययनमा सक्रियता देखाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)सँगको समन्वयमा यो कम्पनीले नेपालबाट बंगलादेशसम्म बिजुली लैजान प्रसारण पूर्वाधारबारे अध्ययन सुरु गरेको हो ।
केही दिनअघि मात्रै अडानी समूहको सहायक कम्पनी अडानी ट्रान्समिशन कम्पनीका अधिकारीसहतिको प्राविधिक टोलीले यसबारे नेपालमा प्रारम्भिक अध्ययन गरेर फर्किएको निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले मकालु खबरसँग बताए । टोलीले यसबारे लगानी बोर्डका अधिकारीसँग पनि छलफल गरेको उनले बताए ।
‘अडानी ट्रान्समिशन कम्पनीका अधिकारीसहतिको टोलीले केही दिनअघि नेपाल आई प्रारम्भिक अध्ययन गरेर फर्किएको छ,’ उनले भने, ‘नेपालमा बढी हुने बिजुली बंगलादेशको बजारसम्म पुर्याउने प्रसारणलाइनलगायत पूर्वाधारमा नेपालको तर्फबाट निफ्राले सक्रियता लिएको हो ।’
यसका लागि झण्डै ६ महिनाअघि नै अडानी समूहको उक्त सहायक कम्पनीसँग निफ्राले समझदारी (एमओयू) गरेको उनले बताए ।
‘नेपालमा बिजुली बढी हुने आकलनका साथ बजारको खोजी भइरहेको छ,’ उनले भने, ‘बंगलादेशलाई बिजुली चाहिएको छ, अडानी ट्रान्समिसन कम्पनीले भारतबाट बंगलादेश, श्रीलंका र म्यानमारसम्म बिजुली पु¥याउन प्रसारण लाइन निर्माणको काम समेत गरिरहेकोले उसले यो काम गर्न सक्ने देखिएको छ । त्यसैले अडानीसँग सहकार्य गर्न लागिएको हो ।’
नेपालको बिजुली बंगलादेश पुर्याउन नेपाल, भारत र बंगलादेशका कम्पनीहरुकोे सेयर लगानी हुने गरी छुट्टै संयुक्त कम्पनी स्थापना गर्नुपर्ने अवधारणमा निफ्रा र अडानीबीच करिब सहमति बनेको छ । तर, यसका लागि बंगलादेशबाट कुन कम्पनी वा निकायले प्रतिनिधित्व गर्ने भन्ने टुंगो लागि नसकेको उनले बताए । बंगलादेश बिजुली लिने देश भएकोले उसको प्रतिनिधित्व कम्पनीमा आवश्यक हुने उनले बताए ।
उक्त संयुक्त कम्पनीमा नेपालको निफ्राको भने केही प्रतिशत मात्रै(थोरै) सेयर रहने र बहुमत सेयर अडानीको नै हुने सीईओ खतिवडाले बताए । पूर्वाधार निर्माणमा ऋण लगानीमा भने निफ्राले बढी जोड दिने उनले बताए ।
उनका अनुसार नेपालतर्फ निर्माण गरिने प्रसारण लाइन पूर्वाधारमा नेपालका निजी क्षेत्रले समेत लगानी गर्न सक्ने छन् । प्रसारण लाइन पूर्वाधार निर्माणमा निजी क्षेत्रले समेत लगानी गर्न पाउने व्यवस्था भने नेपालको चालु बजेटले गरिदिएको छ ।
खास गरी पश्चिम नेपालका कर्णाली, भेरी र सेती नदी करिडोरमा निर्माण हुने ४५ सय मेगावाट भन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको उत्पादन बंगलादेशको बजारमा पुर्याउने गरी उक्त कम्पनीले अध्ययन सुरु भएको हो ।
‘ती क्षेत्रका आयोजनाको विद्युत् भारत पुर्याउन ४०० केभीदेखि ७६५ केभीसम्म हाइ भोल्टेज प्रसारण लाइन निर्माण गर्नुपर्ने पनि हुन सक्छ, यो अध्ययनले देखाउने विषय हो,’ उनले भने, ‘यसका लागि नेपालतर्फको पूर्वाधार निर्माणमा २ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हुन सक्छ । यो लगानी अडानीबाहेक, बंगलादेशी साझेदार, निफ्रा र नेपालका निजी क्षेत्रले पनि गर्न सक्छन् भन्ने अवधारणाअनुसार अघि बढ्न खोजिएको छ ।’
नेपालदेखि बंगलादेशसम्म विद्युत् प्रसारणका लागि डेडिकेटेड (छुट्टै) प्रसारण लाइन बनाउने अवधारणा समेत सरकारले विगतमा अघि बढाएको थियो । तर, त्यो असाध्यै खर्चिलो, जटिल र भारतको समेत सहमति हुनु पर्ने विषय भएकोले अडानीले बंगलादेशसम्म बिजुली पुर्याउन निर्माण गरिरहेको प्रसारण लाइनलाई नै प्रयोग गर्ने गरी नेपालतर्फको प्रसारण पूर्वाधार निर्माण गर्ने निफ्राको अवधारणा छ ।
अडानी ट्रान्समिसनसँग झण्डै १८ हजार ५०० किलोमिटर सर्किट लाइन निर्माण गरेको अनुभवका कारण अडानीले उक्त नेपालतर्फको पूर्वाधार निर्माणमा पनि सघाउन सक्ने निफ्राको अपेक्षा छ । तर, कम्पनीले ठूलो लगानीमा प्रसारण पूर्वाधार बनाउँदै गर्दा विद्युत् उत्पादन र व्यापारका विषयलाई पनि समानान्तर रुपले अघि बढाउनु आवश्यक हुन सक्ने समेत सीईओ खतिवडाले बताए ।









