शनिबारदेखि परीक्षण उत्पादन थाल्दै हुवासिन सिमेन्ट

दुई महिनाभित्र व्यवसायिक उत्पादन थाल्ने

काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले शनिवारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ। परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ।

हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ। व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्ने उनले बताए। डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो। नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो। उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको जनाएको छ। ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान गरिएको छ।

आफ्नै खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ। प्लान्टलाई प्रविधिमैत्री बनाइएको छ। अत्याधुनिक कम्प्युटर प्रविधि (सिसिआर)बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिन्छ। अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल ९भिआरएम० प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ। भिआरएम अत्याधुनिक प्रविधि हो। यो हुवासिनको आफ्नै उत्पादन हो।

अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज प्रुफ र ओस नलाग्ने उद्योगले जनाएको छ। वेस्ट हिट रिकभरीबाट करिब पाँच मेगावाट विद्युत् उत्पादन हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए। मर्स्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो। नेपाल विद्युत् प्राधिकरणले सबै उद्योगमा क्षमता अनुसारको थप बिजुली माग गर्न र थप लोड स्वीकृतिका लागि अनुरोध गरिरहेको बेला सो उद्योगमा समेत लाइन जोडिइ सञ्चालनमा आएको छ।

उपमहाप्रबन्धक पोखरेलका अनुसार गत कात्तिकमा नै स्वीचिङ स्टेसन सञ्चालनमा ल्याइएको थियो। धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेसनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि गत मङ्सिरको दोस्रो सातादेखि उद्योगमा नियमितरुपमा बिजुली उपलब्ध भएको छ। प्रसारण लाइन निर्माण उद्योग आफैँले गरेको हो। त्यसका लागि मात्रै करिब रु एक अर्ब बराबरको खर्च भएको छ।

तनहुँको तल्लो मर्स्याङ्दी विद्युत गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ। प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ। सो स्वीचिङबाट सिमेन्ट उद्योगले कूल २० मेगावाट विद्युत् लिनेछ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उद्योगमा विद्युत् खपत गराउन देश दौहाडामा लागिरहेको बेला काठमाडौँ नजिकैको उद्योगमा २० मेगावाट बिजुली खपत हुन लागेको हो। बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा निर्माणाधीन उद्योगले एक वर्षमा नै स्वीचिङ स्टेसन निर्माण गरेको हो। स्वीचिङ स्टेसनबाट उद्योग परिसरम्म करिब १४ किलोमिटर प्रसारण लाइन र १३२ केभी क्षमताको सबस्टेसन निर्माण भएको छ।

प्राधिकरणको प्राविधिक सहयोग एवं सुपरीवेक्षणमा स्वीचिङ स्टेसन र सवस्टेसन निर्माण भएको हो। घिसिङका अनुसार स्वीचिङ स्टेसन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ। सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार आउनेछ। त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिएका छन्।

स्वीचिङ स्टेसन सञ्चालनसँगै धादिङको गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागेका अन्य उद्योगलाई सहजरुपमा बिजुली उपलब्ध गराउन सहज भएको छ।

काठमाडौँ नजिक भएकाले राजमार्ग क्षेत्रमा दर्जनौँ नयाँ उद्योग खुल्न लागेका छन्। ती उद्योगमा सहजरुपमा बिजुली उपलब्ध गराउन प्राधिकरणको पूर्वाधार समेत तयार छ। राजमार्ग क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुँदा प्राधिकरणको आम्दानीमा वृद्धि हुनेछ।

निजी क्षेत्रले कोभिड–१९ कै बेला एक वर्षमै सवस्टेसन र १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैँमा महत्वपूर्ण रहेको पोखरेलको भनाइ छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो।

कोरोना कहर, प्राकृतिक विपत्ति लगायत कारणले उद्योगको लागत बढ्न गएको छ। लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब रु १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको बताइएको छ। नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो।

अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ। केही समयअघि सो उद्योगले नियमितरुपमा ३० मेगावाट बिजुली पाएको छ। त्यसबाट सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुनेछ। उद्योग सञ्चालनमा आएपछि नेपाली बजारमा अर्को गुणस्तरीय सिमेन्ट उपलब्ध हुनेछ। आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरुको प्रमुख कर्तव्य रहेको पोखरेलको भनाइ छ। हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने छ।

बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो। सम्झौतामा एक वर्षभित्र कारखाना स्थापना गर्ने भनिए पनि विविध कारणले समय समय लागेको हो।

उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजारले अप्रत्यक्षरुपमा रोजगारी पाउने बोर्डको अनुमान छ। विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो। खानीका लागि चिनियाँ प्रवर्द्धकले रु ६० करोड बराबरको लगानी गरेको थियो। खानीका लागि हालसम्मकै बढी खर्च गरिएको छ।

खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिएको हो। बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो। नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ। नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि क्लिन्कर भने आयात गर्नुपर्ने अवस्था छ। विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेको सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुने देखिन्छ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =