आयल निगमले सोमबार आईओसीलाई १६ अर्ब पठाउने, तरलता अभाव अझै बढ्ने चिन्ता

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिदबापत इन्डियन आयल कर्पोरेसन(आईओसी)लाई दिनुपर्ने १६ अर्ब रुपैयाँ सोमबार भुक्तानी गर्ने भएको छ । यसका लागि नेपालका सबै वाणिज्य बैंकमा रहेको आफ्नो खाताबाट कुल १६ अर्ब रुपैयाँ सोमबार निकालिने निगमका प्रवक्ता नागेन्द्र साहले मबालु खबरसँग बताए ।
‘आईओसीलाई तिनुपर्ने भुक्तानी दिन १६ अर्ब रुपैयाँ वाणिज्य बैंकबाट सोमबार निकाल्न लागिएको हो,’ उनले भने, ‘शनिबार नेपालमा र आइतबार भारतमा सार्वजनिक बिदा हुने भएकोले सोमबार उक्त भुक्तानी पठाउन लागिएको हो ।’ निगमले महिनामा दुई पटक आईओसीलाई भुक्तानी गर्दै आएको उनले बताए ।
‘पट्रोल पम्पलगायत बिक्रेताले निगमसँग किनेको पेट्रोलियमको भुक्तानी वाणिज्य बैंकहरुमा रहेको निगमको खातामा जम्मा गर्ने गरेका छन्,’ उनले भने, ‘त्यही खाताबाट रकम निकालिने हो ।’ तर, निगमले आफ्नो खाताबाट निकाल्ने रकम सोझै आईओसीको खातामा पठाउन मिल्दैन ।
आईओसीलाई भारुमा भुक्तनी दिनुपर्छ । यसका लागि निगमलाई राष्ट्र बैंकले भारुको सटही गरिदिनुपर्छ । निगमले मागे बराबरको भारु सटही पाएपछि त्यो रकम आईओसीको खातामा जम्मा गरिदिनुपर्ने व्यवस्था छ ।
यसले नेपालको बैंकिङ प्रणालीमा तरलता अभावको अवस्था अझ बढाउने भन्दै बैंकरहरु भने आत्तिएका छन् । अर्कोतिर यसले राष्ट्र बैंकको विदेशी मुद्रा सञ्चिति अर्थात् भारुको सञ्चिति समेत घटाउने छ ।
राष्ट्र बैंकका अनुसार अयात उच्च रुपमा बढ्दा अहिले विदेशी मुद्राको सञ्चितीको अवस्था कमजोर छ । अहिले ७.२ महिनासम्मलाई मात्रै वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको छ । यो कमजोर अवस्था हो । कम्तिमा पनि राष्ट्र बैंकसँग ९ महिनाभन्दा बढीलाई धान्न सक्ने विदेशी मुद्रा सञ्चिती रहने गरेको थियो ।
‘पेट्रोलियमको आयात अहिले अत्यावश्यक छ,’ निगमका प्रवक्ता साहले भने, ‘तरलता चाप पर्छ वा विदेशी सञ्चित घट्छ भनेर हामीले आईओसीलाई भुक्तानी रोक्न मिल्दैन ।’
पछिल्लो समय नेपालमा वार्षिक झण्डै २ खर्बको पेट्रोलियम पदार्थको खपत हुँदै आएको छ । यसलाई विद्युतीय ऊर्जाले विस्थापन गर्ने अवधारणा सरकारको भए पनि भरपर्दो विद्युत् आपूर्ति गर्न सक्ने वितरण तथा प्रसारण प्रणालीको अभावमा त्यसो संभव हुन सकेको छैन ।
पेट्रोलियम पदार्थको आयात बढ्दै जाँदा यसले व्यापार घाटा बढाउन समेत ठूलो भूमिका खेलेको छ ।









